Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक लाख १७ हजारभन्दा बढी पर्यटक भित्रिए, पर्यटक आगमन हालसम्मकै उच्च

एक लाख १७ हजारभन्दा बढी पर्यटक भित्रिए, पर्यटक आगमन हालसम्मकै उच्च

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८० मंगलवार • ०४:११:२७ बजे
  • 1.7K
    SHARES
  • एक लाख १७ हजारभन्दा बढी पर्यटक भित्रिए, पर्यटक आगमन हालसम्मकै उच्च

    पछिल्लो समय बढ्दो पर्यटन गतिविधिसँगै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । खासगरी छोटा तथा मध्यम रुटका ट्रेकिङ गन्तव्य तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

    images

    काठमाडौँ आसपासका पाँचपोखरी, सैलुङ, कालिञ्चोक, लाङ्टाङ मध्यवर्ती क्षेत्र–गोसाइँकुण्ड, रुविभ्याली लगायतका क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ । यस्तै केही लामो दुरीका कम्तीमा एक हप्ता समय लाग्ने ट्रेकिङ रुटहरू मार्दी, एबीसी (अन्नपूर्ण बेस क्याम्प), घान्द्रुक–पुनहिल, मनाङको तिलिचोदेखि कर्णालीको रारासम्म पर्यटकको घुइँचो नै लागेको छ । अक्टोबर–नोभेम्बर महिना पर्यटनको मुख्य सिजन लागेसँगै विदेशीसहित आन्तरिक पर्यटकको चहलपहल तीव्र बढेको हो ।

    यसले पर्यटन व्यवसायमा निकै ठूलो उत्साह थपेको पर्यटन व्यवसायीहरूको भनाइ छ । कोभिड–१९ पछि करिब तीन वर्ष पर्यटन व्यवसाय सुस्त रह्यो । तर सन् २०२३ सुरु भएलगत्तै आन्तरिकसँगै बाह्य (विदेशी) पर्यटकको फ्लो बढेको हो । ‘भन्ने नै हो पहिलो पटक ग्रामीण होमस्टे (घरबास सेवा) ले यतिबेला पर्यटकको फ्लो धान्न सकिरहेका छैन,’ होमस्टे एसोसिएसन नेपाल (होसान) गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले रातोपाटीसँग भने । दसैँ, तिहार र छठका अवसरमा एकै पटक आन्तरिक पर्यटक रारा ओइरिँदा खाने बस्नेको प्रबन्ध गर्न मुस्किल परेको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष एवं होटल व्यवसायी देवीकृष्ण रोकायले बताए ।

    ‘रारामा सीमित होटल छन् । जम्माजम्मी ८ वटा होटलले बढीमा एक दिनमा ३ सय पर्यटक धान्न सक्छन् । तर एकै दिन १२–१५ सय पर्यटक ओइरिएपछि व्यवस्थापन गर्न कठिनाइ पर्‍यो’ रोकायले भने । रारा इको रिसोर्ट तथा रारा एड्भेन्चर टुर एन्ड ट्रेक व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी रोकायले मौसमी पर्यटकले गर्दा व्यवसाय बढेको तर व्यवस्थापनमा चुनौती थपिएको बताए । यस्तै समस्या सिन्धुपाल्चोकको पाँचपोखरीका पर्यटन व्यवसायीहरूले समेत भोगेका छन् । दसैँ, तिहार तथा छठका बिदाको समयमा एकै पटक पर्यटक पाँचपोखरी पुगेपछि त्यहाँका होटल व्यवसाय अस्तव्यस्त बन्न पुगेका हुन् । सीमित होमस्टे तथा होटल व्यवसायीहरूले एकै दिन ६–७ सयको पर्यटक धान्न नसकेको व्यवसायी छिरिङ तामाङले बताए ।

    ‘यति धेरै पर्यटक आउँछन् भन्ने हाम्रो अनुमान नै थिएन । दैनिक ५०–६० जनाको अकुपेन्सी यहाँका एउटा दुईवटा होटलले नै व्यवस्थापन गर्दै आएका थिए । तर एकै दिन ६–७ सय पर्यटक भित्रिएपछि व्यवस्थापनमा समस्या पर्‍यो ।’ बिदाका समयमा पर्यटकहरू पाँचपोखरी आउँदा खान, बस्नको राम्रो व्यवस्था गर्न नसकिएको उनले स्विकारे । अरू बेलामा त्यति पर्यटक नआउने हुँदा पाँचपोखरी आसपासका होटलहरूले आलोपालो दैनिक एउटा होटलले मात्र पर्यटक राख्ने गरेका थिए । तर अप्रत्यसित पर्यटक ओइरिँदा व्यवस्थापनमा समस्या परेको उनले बताए ।

    यस्तै पर्यटन सिजनमा पर्यटकीय क्षेत्र पोखरा, सौराहा, इलाम, जनकपुरलगायतका क्षेत्रहरूमा समेत पर्यटकको बाक्लो उपस्थिति रहेको छ । जसले कोभिड–१९ पछि पुनः उत्साह फर्काएको पर्यटन व्यवसायीहरूको भनाइ छ । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा करिब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिइसकेका छन् । त्यसो त पछिल्लो अक्टोबर महिनामा मात्र एक लाख १७ हजारभन्दा बढी भित्रिएर पर्यटक आगमनमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ ।

    नेपालको पर्यटन व्यवसाय कोभिड–१९ पूर्वकै अवस्थामा फर्किसकेको नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनाएको छ । सन् २०१९ को तुलनामा गत अक्टोबरमा १०४ प्रतिशतले पर्यटक आगमन रिकभरी भएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् । सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । अक्टोबरसम्ममा करिब ८ लाख पर्यटक भित्रिसकेकोमा बाँकी नोभेम्बर र डिसेम्बरमा २ लाख पर्यटक सहजै आउने प्रवक्ता लामिछानेको भनाइ छ । ‘हामी नोभेम्बरको करिब अन्तिममा छौँ ।

    यो महिना पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको अनुमान छ । यद्यपि पूर्ण तथ्याङ्क आइसकेको छैन,’ लामिछानेले भने, ‘डिसेम्बरमा थप एक लाख पर्यटक सहजै भित्रिने हाम्रो अनुमान छ । यसो भयो भने १० लाखको सरकारी लक्ष्य सहजै पार गर्छौँ ।’ पर्यटन पूर्वाधार, पर्यटन गन्तव्यहरूको पहिचान र प्रचारप्रसारसँगै आकर्षणका नीति अपनाउन सके अझै पर्यटक बढ्ने प्रवक्ता लामिछानेको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology