एजेन्सी । कोरोना भाइरसको महामारीबाट झण्डै सिंगो विश्व आक्रान्त छ । संक्रमण र मृत्युदर दिन प्रतिदिन बढिरहेको छ । तर कुरा दुख र पिडाको मात्रै हैन, आशा र भरोसाको पनि छ । किनकी कोरोना भाइरसविरुद्धको औषधिको खोजी कार्य पनि चलिरहेको छ ।
विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको खोप विकासमा लागि रहेका छन । कोही सफलताको नजिक पुगेका छन भने कोही सफलता पछ्याउँदै छन । यही मेसोमा भारतका वैज्ञानिकहरुले पनि कोरोनाविरुद्धको औषधि खोज्ने अभियानलाई निरन्तर जारी राखेका छन ।
त्यही निरन्तरताको परिणामस्वरुप उनीहरु कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन सफल भएका छन । ईण्डियन काउन्सिल अफ मेडिकल रिचर्स (आइसिएमआर) ले हैदराबादमा रहेको एक कम्पनीसंग मिलेर कोरोन भाइरसको आक्रमणलाई निको पार्ने नयाँ औषधि पत्ता लगाएको हो ।
हैदराबादको फर्मा कम्पनी बायोलोजिकल ई लिमिटेड र आइसिएमआरबीचको सहकार्यले सफलता हात परेको हो । जसअनुसार वैज्ञानिकहरुले कोरोना संक्रमितको उपचारका लागि प्यूरीफाइड एन्टीसेराको विकास गरेका छन । यसमा जनवारबाट लिएको रगतकाे सिरम हुन्छ ।
यसैबाट कोरोना संक्रमितको उपचार गरिनेछ । आइसिएमआरका अनुसार कोरोना संक्रमित विरामीबाट प्लाज्मा लिन सकिन्छ तर, एन्टीबडीजले त्यसको प्रभावकारितालाई एक विरामीबाट अर्को विरामीमा पुग्दा परिवर्तन गराउँछ ।
यसले विरामीको उपचारलाई भरपर्दो बनाउन सक्दैन । तर एन्टीसेरामा आधारित उपचार पद्धतिको माध्यमबाट कोरोना संक्रमित विरामीलाई निको पार्ने सकिने आइसिएमआरलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन ।