संस्कृति र परम्परा कुनै पनि समाजको मेरुदण्ड हुन्छ । हरेक देश, समुदाय, र समाजले आफ्नो विशेष सांस्कृतिक र परम्परागत अभ्यासलाई सदियौंदेखि जगेर्ना गर्दै आएको हुन्छ । हाम्रो देश नेपाल विविधतामा एकता भएको राष्ट्र हो, जहाँ विभिन्न जातजाति, धर्म, र भाषाभाषीहरूका आफ्नै मौलिक संस्कृति र परम्पराहरू रहेका छन् । यो विविधताको मिश्रणले नेपाली समाजलाई अझ समृद्ध र सजीव बनाएको छ । तर, समयसँगै हरेक संस्कृति परिवर्तनशील हुन्छ । नेपाली समाजमा पनि त्यसको असर परेको छ । यस लेखमा हामी हाम्रो संस्कृति र परम्पराको विगत र वर्तमानमा कस्तो परिवर्तन आएको छ, फरक के छन्, र यसका कारण तथा प्रभाव के के छन, भन्नेबारे चर्चा गरिएको छं ।
विगतमा हाम्रो संस्कृति र परम्परा
विगतमा नेपाली समाज अत्यन्तै धार्मिक, नैतिक, र सांस्कृतिक मूल्यमा आधारित थियो । हाम्रो समाजमा धर्म र परम्पराको गहिरो प्रभाव थियो, यसले हरेक व्यक्तिको दैनिक जीवनलाई मार्गदर्शन गर्थ्यो । विशेषगरी हिन्दू धर्म र बौद्ध धर्मको प्रभाव हाम्रो जीवनशैलीमा गहिरो जरा गाडेको थियो । जातीय विविधताको बाबजुद, सबै समुदायका मानिसहरू आ-आफ्ना परम्परागत विधि र संस्कारमा अडिग थिए ।
विगतमा नेपाली समाजमा परम्परागत चाडपर्वहरू विशेष महत्त्वका साथ मनाइन्थ्यो। दशैं, तिहार, तीज, गाईजात्रा, लोसर, छठ जस्ता पर्वहरू सामाजिक एकता र सहकार्यको प्रतीक मानिन्थे । गाउँमा सामूहिक रूपमा चाडपर्व मनाउन ठूलो समूहहरू भेला हुन्थे। ती चाडपर्वहरूमा सादगी, सामूहिकता, र परम्परागत शैलीमा विशेष ध्यान दिइन्थ्यो ।
धार्मिक स्थलहरूमा पुगेर पूजा गर्ने, मठमन्दिर, गुम्बा, चर्च, वा- मस्जिदजस्ता धार्मिक स्थलहरूमा सहभागी हुने, र बृद्धबृद्धा वा गुरुजनहरूलाई सम्मान गर्ने परम्परा चल्दै आएको थियो । त्यसबेला मानिसहरूले धार्मिक विधिहरूलाई कडा रूपमा पालना गर्थे, र उनीहरूको दैनिक जीवनलाई धर्मसँग जोडेर हेर्थे। मानिसहरूले समाजमा सादगी र शुद्धता कायम राख्न महत्व दिन्थे, जहाँ व्यक्तिगत लालचभन्दा सामूहिक कल्याणलाई प्राथमिकता दिइन्थ्यो ।
विगतको नेपाली समाजमा परम्परागत कला, संगीत, नृत्य, र शिल्पहरू जगेर्ना गरिन्थ्यो । परम्परागत लोककला, नृत्य, र गीतहरूले सामाजिक तथा सांस्कृतिक महत्त्व राख्थे। ती कलाहरूको संरक्षण र विकासमा समाजका सबै तहका मानिसहरूले सक्रिय सहभागिता जनाउँथे । नेवारहरूको लकंह, थारूहरूको झुमरा, र अन्य विभिन्न समुदायका परम्परागत नृत्यहरू नेपाली सांस्कृतिक जीवनका अभिन्न अंश थिए ।
वर्तमानमा हाम्रो संस्कृति र परम्परा
हालको समयमा, हाम्रो समाजमा ठूलो परिवर्तन आएको छ । आधुनिकता, शिक्षा, प्रविधि, र विश्वव्यापीकरणको प्रभावले हाम्रो संस्कृति र परम्परामा गहिरो परिवर्तन ल्याएको छ । मानिसहरूको जीवनशैली मात्र होइन, उनीहरूको सोच र सांस्कृतिक मान्यतामा पनि ठूलो परिवर्तन आएको छ । अहिले हामी आधुनिक समाजमा बाँचिरहेका छौं, जहाँ पश्चिमी जीवनशैली, प्रविधिको व्यापक प्रयोग, र व्यक्तिवादले प्रमुख स्थान लिएको छ ।
वर्तमान समयमा चाडपर्वहरू मनाउने तरिका पनि परिवर्तन भएको छ । दशैं, तिहारजस्ता परम्परागत पर्वहरू अझै महत्त्वका साथ मनाइन्छन्, तर तिनलाई अहिले बढी देखावटी र खर्चिलो बनाइएको छ। पहिलाजस्तो सामूहिकतामा भन्दा, चाडपर्वहरूलाई व्यक्तिगत समारोहका रूपमा लिइएको छ । सादगीको ठाउँमा महँगा कपडा, गहना, र भोजभतेरको प्रचलन बढेको छ । विशेषगरी शहरका क्षेत्रमा यो प्रचलन तीव्र रूपमा बढेको छ ।
धार्मिक र सांस्कृतिक मान्यताहरूमा पनि ठूलो परिवर्तन आएको छ । अहिलेका युवापुस्ता धार्मिक क्रियाकलापमा पहिलाको जस्तो गहिरो आस्था राख्दैनन्। धार्मिक स्थलहरूमा जाने चलन कम भएको छ भने, परम्परागत पूजा-पाठलाई आधुनिक जीवनशैलीका कारण कम प्राथमिकता दिइएको छ । यसले गर्दा धार्मिक र सांस्कृतिक परम्पराको निरन्तरतामा केही कमी आएको छ ।
प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले हाम्रो सांस्कृतिक जीवनमा ठुलो प्रभाव पारेको छ । आजकल मानिसहरू सांस्कृतिक चाडपर्वहरूलाई सामूहिक भेला र नाचगानको माध्यमभन्दा पनि सामाजिक सञ्जालमा देखावटी रूपमा प्रस्तुत गर्ने माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् । तीज, दशैं, वा तिहारमा खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गर्नुले धेरैजसो युवाहरूका लागि पर्व मनाएको अनुभव भएको छ । यसले वास्तविक पर्वको अर्थ र सामूहिकताको भावना कम गर्दैछ ।
भिन्नता के के रहेका छन ?
धार्मिकता र आस्थाः विगतमा धर्म र धार्मिक क्रियाकलाप हाम्रो जीवनको मूल हिस्सा थियो । अहिले धार्मिक गतिविधिहरूको महत्त्व केही हदसम्म घटेको छ । धेरै मानिसहरू धार्मिक परम्परालाई पूजापाठभन्दा सामाजिक औपचारिकताका रूपमा मात्र पालना गर्छन् । चाडपर्वको सादगी खक दिखावटः विगतमा चाडपर्वहरू सादगीपूणर् रूपमा मनाइन्थे, जहाँ सामूहिकता, परम्परागत रीति, र संस्कारलाई विशेष प्राथमिकता दिइन्थ्यो। अहिले चाडपर्वहरू बढी महँगा कपडा, गहना, र भोजभतेरमा केन्द्रित भएका छन् । आधुनिक जीवनशैलीले सादगीको ठाउँमा खर्चिलोपन ल्याएको छ । व्यक्तिवाद खक सामूहिकताः विगतमा हाम्रो समाजमा सामूहिक सहकार्य र मेलमिलापको भावना बलियो थियो। चाडपर्वदेखि धार्मिक अनुष्ठानसम्म सामूहिक रूपमा गरिन्थ्यो । अहिले व्यक्तिवादले प्रमुख स्थान लिएको छ । परिवार र समुदायभन्दा व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिइन्छ । परम्परागत कला र संगीतमा कमीः पहिले नेपाली समाजमा लोककला, नृत्य, र संगीतलाई संरक्षण गरिन्थ्यो । अहिले यी परम्परागत कलाहरू बिस्तारै हराउँदै गएका छन् । पश्चिमी संगीत र नृत्यको प्रभावले हाम्रो मौलिक संस्कारलाई ओझेलमा पारेको छ ।
यसका कारणहरू
शिक्षा र जागरूकताः आधुनिक शिक्षा र वैज्ञानिक सोचले परम्परागत संस्कार र मान्यताहरूलाई पुनर्विचार गर्न बाध्य बनाएको छ । धेरै पुराना प्रथाहरूलाई अब अन्धविश्वास वा अप्रासंगिक मानिन्छ । प्रविधिको विकासः प्रविधिको तीव्र विकासले हाम्रो जीवनलाई धेरै सहज बनाएको छ । तर यसले हाम्रो परम्परागत जीवनशैलीलाई धेरै नै प्रभाव पारेको छ । मानिसहरूले अहिले समयको अभावका कारण परम्परागत गतिविधिहरूलाई त्याग्दै आएका छन् । शहरिकरण र औद्योगिकीकरणः गाउँबाट शहरतिर बसाइँ सरेपछि मानिसहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । शहरमा काम गर्ने जीवनशैलीले गर्दा मानिसहरूले परम्परागत मान्यतालाई पछ्याउन कम प्राथमिकता दिएका छन् । विश्वव्यापीकरणः पश्चिमी जीवनशैली र संस्कृतिको प्रभाव नेपाली समाजमा गहिरो रूपमा परेको छ । विशेषगरी युवा पुस्ताले पश्चिमी संस्कृतिलाई अँगाल्न थालेका छन्, यसले गर्दा हाम्रो मौलिक परम्परा कमजोर बन्दैं गएको छ ।
यसले पारेका प्रभावहरू
सांस्कृतिक पहिचानमा कमीः परम्परागत सांस्कृतिक अभ्यासहरूको ह्रासले हाम्रो मौलिक सांस्कृतिक पहिचानलाई कमजोर बनाएको छ । हामीले आधुनिकता अँगाल्दै जाँदा आफ्ना परम्परागत मूल्यहरू बिर्सन थालेका छौं । सामाजिक सम्बन्धमा परिवर्तनः व्यक्तिवादको बढ्दो प्रभावले सामूहिकताको भावना कमजोर भएको छ । पहिलेको पारिवारिक र सामुदायिक एकता अहिले क्रमशः कमजोर हुँदै गइरहेको छ । धार्मिक विश्वासमा कमीः आधुनिक शिक्षा र प्रविधिको विकासले धार्मिक आस्थामा केही कमी ल्याएको छ । अहिलेका मानिसहरू पुराना धार्मिक मान्यतालाई त्यति महत्त्व दिदैनन्, जसले परम्परागत धार्मिक गतिविधिमा कमी आएको छ ।
समग्रमा, हाम्रो संस्कृति र परम्पराको यात्रा एउटा समयसापेक्ष परिवर्तनको कथा हो । विगतमा हाम्रो समाजमा धर्म, परम्परा, र सांस्कृतिक मूल्यहरूले गहिरो जरा गाडेका थिए। ती मूल्यमान्यताले सामाजिक संरचना, पारिवारिक जीवन, र व्यक्तिगत व्यवहारलाई प्रभावित गर्दर्थे । परम्परागत चाडपर्वहरू, धार्मिक अनुष्ठानहरू, र सांस्कृतिक प्रथाहरूले मानिसहरूबीच एकता, सद्भाव, र सहकार्यको भावना विकास गर्न महत्वपूणर् भूमिका खेले। नेपाली समाजमा सादगी, परम्परागत सोच, र समुदायमुखी जीवनशैलीको प्रचलन थियो । ती समयमा मानिसहरूले आफ्नो सांस्कृतिक पहिचानलाई जीवनशैलीको केन्द्रमा राखेर बाँच्ने गर्थे ।
तर, समयसँगै समाजले प्रविधि, शिक्षा, र विश्वव्यापीकरणको प्रभाव ग्रहण गर्दैगर्दा हाम्रो परम्परागत मूल्य र संस्कृति परिवर्तन हुँदै आएको छ । वर्तमानमा हाम्रो समाजले परम्परागत चाडपर्व र संस्कारलाई अझै पनि निरन्तरता दिए पनि तिनको रूप र महत्त्वमा परिवर्तन आएको छ । चाडपर्वहरूमा अब सामूहिकताको ठाउँमा व्यक्तिवादी सोच हावी भएको छ, र परम्परागत रीति-रिवाजहरूको सादगीलाई देखावटीपनले प्रतिस्थापन गरेको छ । आजकल धार्मिक आस्था, परम्परागत कला, र सांस्कृतिक प्रथाहरूलाई सम्मान गर्नेहरूको संख्या घट्दो क्रममा छ, यसको कारणले गर्दा हाम्रो मौलिक पहिचानलाई बचाउन चुनौती थपिएको छ ।
वर्तमान परिवेशमा देखिएको यो परिवर्तनको मूल कारण आधुनिक शिक्षा, वैज्ञानिक सोच, प्रविधिको विकास, र पश्चिमी संस्कृतिको प्रभाव हो । यी सबै तत्वहरूले नेपाली समाजलाई नयाँ ढंगले सोच्न र बाँच्न प्रेरित गरेका छन् । आधुनिक समाजले व्यक्तिगत स्वतन्त्रतालाई प्रोत्साहन गर्दै परम्परागत प्रथालाई पुनरावलोकन गरेको छ, । यसले गर्दा कतिपय पुराना प्रथाहरू अप्रासंगिक मानिएका छन् । तर, यस परिवर्तनसँगै परम्परागत संस्कृतिको संरक्षण र निरन्तरतामा कमी आएको छ । यसले भविष्यमा हाम्रो सांस्कृतिक पहिचानलाई चुनौती दिन सक्ने खतरा बढेको छ ।
यो परिवर्तनले केही सकारात्मक प्रभावहरू पनि ल्याएको छ । महिलाहरूलाई समान अवसर प्रदान गर्ने, जातीय भेदभावलाई चुनौती दिने, र आधुनिक शिक्षामा जोड दिने जस्ता सुधारहरू समाजमा आएको छ । समानताका सिद्धान्तहरूले हाम्रो समाजलाई न्यायपूणर् र समावेशी बनाएको छ । तर, यससँगै परम्परागत मूल्यहरूको ह्रासले सामाजिक सम्बन्ध, परिवारमा सामूहिकता, र सांस्कृतिक धरोहरको ह्रास गराएको छ । अहिलेको पुस्तालाई आफ्नो सांस्कृतिक विरासतलाई बचाएर अगाडि बढ्न प्रेरित गर्नु चुनौतीपूणर् काम बनेको छ ।
निष्कर्षमा, समय परिवर्तनशील हुन्छ, र संस्कृतिहरू पनि समयको गतिसँगै परिवर्तन हुन्छन् । यो स्वाभाविक प्रक्रिया हो । तर, परिवर्तनसँगै आफ्नो मौलिक पहिचान र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्नु प्रत्येक समाजको जिम्मेवारी हो । आधुनिकता र परम्पराको बीचमा सन्तुलन कायम राखेर मात्र हामीले आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सक्छौं । वर्तमान पुस्ताले आधुनिक शिक्षाको फाइदा उठाउँदै आफ्ना परम्परागत मूल्यहरूलाई पुनर्जीवित गर्न ध्यान दिनुपर्छ ।
यसको लागि, विभिन्न तहका सरकारले पनि विशेष भुमिका खेल्नु पर्दछ । हाम्रो सांस्कृतिक धरोहरको संरक्षणका लागि विशेष पहल लिनुपर्छ। विद्यालय स्तरबाटै बालबालिकालाई आफ्नो संस्कृति र परम्पराप्रति जागरूक गराउन शिक्षा प्रणालीमा आवश्यक सुधार गर्नुपर्छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल, र प्रविधिको प्रयोग गरेर सांस्कृतिक पर्व र प्रथाहरूलाई प्रवर्द्धन गर्न सकिन्छ । साथै, परम्परागत कला, संगीत, र संस्कृतिलाई जगेर्ना गर्न युवापुस्तालाई प्रोत्साहन गर्न आवश्यक छ । हामीले आधुनिकताको मार्ग अँगाल्दै गर्दा आफ्नो मौलिकता र परम्परालाई बिर्सनु हुँदैन । परम्परागत मूल्यहरूलाई आधुनिक सोचसँग मेल गराउन सक्ने हो भने, हामीले हाम्रो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै विश्वसामु हाम्रो पहिचानलाई बलियो बनाइराख्न सक्दछौं । यस प्रकारको सन्तुलनले मात्र हामीले हाम्रो संस्कृति र परम्परागत मूल्यलाई भविष्यसम्म बचाएर अगाडि पुर्र्याउन सक्दछौं ।
स्विकृति शर्मा
आदर्श विद्यामन्दिर आ.मा.वि. बागलुङ.