शेर बहादुर सुनार - अहिले नेपालमा जताततै चुनावको माहोल तातिरहेको छ। कतिपय मान्छे खुसी छन्, कतिपय दुखी र निरास छन् भने कतिपय रनभुल्लमा छन्। कोही बाघ भन्छन्, कोही आफैँवाद भन्छन्, कोही दाइ त कोही बा भन्छन्। कतै “नयाँ चाहियो, पुराना सकौँ” भन्छन्, कतै “पुरानै ठिक” भन्छन्, झनै कतिपय पुरानो राजा ठिक भन्छन्। मलाई लाग्छ, सबैभन्दा ठुलो समस्या आजको यो संसदीय व्यवस्थाको असफलता हो। निश्चित नेताहरूले गरेको भ्रष्टाचार र मनोमानी हो। अब फेरि चुनाव र यही व्यवस्थाभित्रबाट समस्याको समाधान खोजियो भने फेरि धोका हुनेछ। किनकि जतिसुकै भ्रष्टाचारमा मुछिए पनि, जतिसुकै अपराधमा तानिए पनि सत्ता र शक्तिको भरमा चोखिएकै छन् भन्ने कुरा हाम्रो खुल्ला आँखाले देख्न सकिन्छ।
जेल त गरिब, दलित र पिछडिएकाहरूका लागि मात्र भयो। देउवा जस्तालाई जतिसुकै भकुरे पनि, पुराना खराब नेतालाई हेलिकप्टरमा भगाए पनि फेरि यही व्यवस्थाले संरक्षण गरेर फेरि देशको नेतृत्व गर्ने अवस्थामा पुर्याएको छ।
आजको आवश्यकता भनेको नयाँ, प्रगतिशील व्यवस्था सहित राजनीतिमा नयाँ अनुहार हो, जो देशका लागि समर्पित छन्, देशको माया मुटुमा राख्छन्। ती राजनीतिमा आएका नयाँ मान्छेहरूले उठाउने जनताका मुद्दा देशको विकास, समृद्धि र स्वाधीनताको मुद्दा हुनुपर्छ। देशमा चरम समस्या छ, परिवर्तन जरुरी छ।
यसै भन्दैमा देश बनाउने मान्छे अरूलाई धारेहात लगाउँदै रातारात जन्मिनु पनि अर्को समस्या हो। जसलाई देशको समस्या के हो, देशभित्र भएको अन्तरविरोध के हो, जनताको माग के छ-सुकुम्बासी, महिला, दलित, किसान, गरिब, पछि परेका समुदाय, वर्ग र क्षेत्रका समस्या के–के छन्, तिनको जीवनमा रूपान्तरण कसरी ल्याउन सकिन्छ-केही थाहा छैन। निद्रामा बिउँझेर बतुराएजसरी “देश बनाउँछु” भन्दै हिँडिरहेका छन्। कतिपय मान्छे त तिनैलाई महान् क्रान्तिकारी मानेर कार्ल मार्क्स, ली क्वान यू नै आएको जसरी खुसीले ताली बजाइरहेका छन्।
म त्यति धेरै त जान्दिनँ। हल्लाहरू सुन्ने गरिन्छ—हाम्रो देशका सबै क्षेत्रका जान्ने–बुझ्ने अथवा प्रतिभाशाली मान्छे विदेशी प्रभावमा हुन्छन्। पछिल्लो समयमा कतिपय देखियो पनि। तर “देश बनाउँछु”, “राम्रो गर्छु” भन्नु आफैँमा नराम्रो होइन। तर त्यसका लागि त्याग, समर्पण, मूल्य–मान्यता कुनै विचारमा आधारित त पक्कै हुनुपर्छ होला। किनकि हामी मान्छे त बौद्धिक परिपक्व अवस्था आउनलाई कैयौँ वसन्त पार गर्नुपर्छ। देश बनाउँछु भन्ने मान्छेले के गर्छ, त्यो आफ्नो कुरा भयो। तर आम जनताले यो बुझ्नु जरुरी छ—हजारौँ सहिदको बलिदानी र त्यागपछि पाएको अधिकार, आफ्नो जनप्रतिनिधि राम्रो भए जिताउने र नराम्रो भए हराउने अधिकार आफैँमा छ।
कुनै पार्टीलाई नयाँ–पुरानोमा विभाजन गर्नु भन्दा पनि समस्या यो प्रणाली, प्रवृत्ति र दृष्टिकोण हो। कुनै पनि सिङ्गो पार्टीको योगदानलाई अपमानित गर्नु भन्ने मलाई लाग्दैन। जुन पार्टीको नीति र नेतृत्व अग्रगामी छैन, वा नीति खराब छ, जनभावनाविपरीत छ भने यही चुनावमा आफैँले नरोज्न सकिन्छ वा बहिष्कार गरिदिन सकिन्छ। आफ्नो जनप्रतिनिधिले “देश बनाउँछु” भन्दैछ, आफ्नो समाजको वस्तुगत अवस्था र समस्या के–के छन् ? शिक्षा, स्वास्थ्य, रोजगारी, अन्य मुद्दा के हुन् ? उसले उठाएको मुद्दा हुदा खाने, गरिब, किसान, समाजमा पछि परेका समुदाय, वर्ग, क्षेत्र, महिला, सुकुम्बासी र दलितका पक्षमा छन् कि निश्चित हुने–खाने, जान्ने, सम्पन्न वर्ग र बिचौलियाका पक्षमा छन् ? गरिखाने किसान, सुकुम्बासी र दलित समुदायले जग्गा र सुविधा कहिले पाउने ? महिला र दलित समुदायमाथि गरिएको विभेदको अन्त्य कसरी गर्ने ? यस्ता समस्याको हल कसरी हुन्छ ? जो प्रतिनिधि त्यहीँको माटोसँग सम्बन्धित छ कि छैन ?
समग्र देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलाई रूपान्तरण गर्ने योजना के छ ? राष्ट्रिय स्वाधीनताबारे कस्तो दृष्टिकोण छ ? भन्ने जस्ता आफ्ना मुद्दामा मान्छे केन्द्रित छैनन्। कसैले “देश बनाऊँ” भन्दैछन्, धेरैजसो मान्छे “हो, बनाऊँ” भन्दै हावाको तालमा समर्थनमा उत्रिएका छन्। तर धेरै प्रश्न उठाउने ठाउँबाट नउठाउँदा आज आर्थिक र सामाजिक रूपान्तरणले गति लिन सकेको छैन। जनप्रतिनिधि नयाँ वा पुरानो हुने कुरा उसले उठाएको मुद्दाले हो, हावाको गफ र रूपले होइन। चटके घोषणा–पत्र त सबैले बनाउँछन्। यतिसम्म बुझ्न र खोज्न जरुरी छ।
राजनीतिको बजारमा बेथिति र मूल्य–मान्यता देखी च्युत भएको अवस्थामा म नयाँ त पुरानो, म राम्रो त नराम्रो, म भ्रष्टाचारी भनी सत्ताको होडबाजीमा एकले अर्कालाई निषेध गर्नुपर्छ भनी धारेहात लगाउनेहरू मात्र भएको जस्तो देखिन्छ। आफूलाई सादा, सुकुम्बासी हौँ भन्दै राजनीतिमा प्रवेश गरेकाहरू आज जसरी ठूला–ठूला महल खडा गरेका छन्, राज्यको सम्पत्ति होस् वा जनताका पैसासम्म झ्वाम पार्न पछि परेका छैनन्। नेता अर्थात् देश बनाउने मान्छे ठूला महल र महँगो रहनसहनबाट आएको हुनुपर्छ, भ्रष्टाचार गरेरै भए पनि धेरै पैसा भएको हुनुपर्छ भन्ने मान्यता पनि यथावत् छ।
यति मात्र होइन, यो देशको विकास र समृद्धि गर्नुपर्छ, सबै जनताको जीवनमा साँच्चिकै रूपान्तरण गर्नुपर्छ, सबैले राम्रो शिक्षा पाउनुपर्छ, गरिबले पनि राम्रो उपचार पाउनुपर्छ भन्ने कुरा उठ्दा—स्वाधीनताको पक्षमा लिपुलेक अतिक्रमण होस् या एनसेलले राज्यलाई कर नतिर्दा होस्, भ्रष्टाचार, मिटरब्याज र एमसीसीविरुद्ध सधैँ ठूलो त्याग, समर्पण, बलिदान र दशकौँ संघर्ष मैदानमा राज्यको एक गिलास पानी पनि नखाई आज नेकपा (माओवादी) नेतृत्व, विप्लव जस्ता दर्जनौँ पार्टीका नेता–कार्यकर्ताहरू ज्यानलाई दाउमा राखेर गरिबका झुपडीहरूमा र सडकमै छन्। पछि परेका समुदाय, वर्ग र क्षेत्रलगायत सबैले भ्रष्टाचारी लुटेराहरूसामु मात्र समस्याको समाधान खोज्नु हुँदैन, इमानदार देशभक्त मानिसहरूलाई पनि चिन्नुपर्छ। राम्रो मान्छेलाई नचिनी यिनै खराब मान्छेहरूलाई देश चलाउने जिम्मेवारीमा पठायौँ भने जनताका पैसा पनि खान्छन्, भ्रष्टाचार पनि गर्छन्। बेलाबेला आन्दोलन हुन्छ, अनि जेन्जी आन्दोलनमा मारेझैँ मार्नेछन्।
यति मात्र कहाँ हो र—रोजगारीको सिलसिलामा कम सुरक्षा र मापदण्ड नअपनाई कमिसन खाएर कमसल काममा विदेश पठाई कैयौँ युवा–युवतीहरूको हत्या गरिरहनेछन्। बाढी–पहिरोमा पारेर मारिरहनेछन्। आजसम्मका शासकहरूले गरेकापनि यही हो। गरिबले रोजगारी, राम्रो शिक्षा पढ्न र उपचार गर्न पाउने छैनन्। यति मात्र कहाँ हो र—देशमा विदेशी हस्तक्षेप भयो भने अहिले सबैले देखेको युक्रेनजस्तै बन्न सक्छ। जब त्यतिबेला विदेशी सेना देशमा आउनेछन्, सँगै आकाशमा ठूला–ठूला मिसाइल पनि आउनेछन्। चरम अशान्ति हुनेछ। अपाङ्ग बाहेक देशका सबै मानिस हतियार बोकेर लडाइँमा जानुपर्नेछ, कि अपाङ्ग हुनलाई आफ्नै हात–खुट्टा भाँचेर बस्नुपर्ने अवस्था आउनेछ।
त्यो बेला विदेशीले पनि कामदार वा अन्य प्रयोजनका लागि मानिस लैजाने छैनन्। तब खाडी वा अन्य देशमा मानिस तस्करी गर्ने विशेष नेपाली दलालहरूले नेपालमै हात–खुट्टा भाँच्ने सेन्टर खोल्नेछन्। सबै नवयुवाहरू हात–खुट्टा भाँच्न लाइनमा बस्नुपर्नेछ। त्यसैमा पनि दलाल बिचौलियाहरूले जससँग पैसा छ, उनीहरूबाट कमिसन लिएर हात–खुट्टा भाँच्नेछन्। सरकारका कर्मचारीहरूले मानव तस्करहरूसँग घुस खानेछन्। त्यहाँ पनि गरिब, पैसा नभएकाहरू ठगिनेछन् र रुँदै लडाइँमा जानुपर्नेछ। यस्तो अवस्था नआउला भन्न सकिँदैन।
सबै मानिसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिबारे थाहा हुँदैन। जान्ने, बुझ्ने, पढेलेखेकाहरूले पनि आफूअनुकूल हुँदा राम्रो र आफूअनुकूल नहुँदा खराब भन्दै विभिन्न भाष्य सिर्जना गरी राम्रो चीजलाई पनि एक गिलास रातो चिया खान नपाएको झोकमा पूरै खराब भन्न सक्छन्। अझैसम्म गरिबका झुपडीहरूमा न्याय, अधिकार भन्ने कुरा थाहै हुँदैन, बरु आफ्नै भाग्यलाई सरापेर बस्ने हाम्रो समाज छ।
केही मानिसहरूलाई चाहियो भन्दैमा त्यही समाजमा अफवाह फैलाएर हाम्रो देशको नेता मेसी, रोनाल्डोजस्तै कुनै अंग्रेजी फिल्मको सुपरस्टार वा जादु देखाउने जस्तो हुनुपर्छ भन्ने भाष्य सिर्जना गरियो भने देशका लागि ठूलो दुर्भाग्य हुन सक्छ। “आलिसान महलहरूमा होइन, गरिबका झुपडीहरूमा पनि दुनियाँ बदल्न सक्ने नेतृत्व जन्मिन सक्छन ।”
नेपालमा नेपाली जनताको आवश्यकताअनुसार, नेपाली मौलिकता र परिवेशअनुसारको प्रगतिशील विचार बोकेका इमानदार नेताको आवश्यकता छ।