काठमाडौँ - भूतपूर्व शिक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. महावीर पुनले सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई निरन्तर उपेक्षा गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिलाई मेरुदण्ड मान्नुपर्नेमा सरकारले यसलाई प्राथमिकतामा नराखेको र संरचनागत रूपमै यसको अस्तित्व संकटमा पार्न खोजेको भन्दै डा. पुनले चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले हालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधिलाई अलग गरी एक शक्तिशाली र स्वायत्त मन्त्रालय स्थापना गर्न सरकारलाई सुझाव दिनुभएको थियो ।
डा. महावीर पुनले लामो समयदेखि नेपालमा विज्ञान र प्रविधिको विकासका लागि छुट्टै र अधिकारसम्पन्न मन्त्रालयको आवश्यकता औँल्याउँदै आउनुभएको छ। हाल विज्ञान र प्रविधिलाई शिक्षा मन्त्रालयको एउटा सानो इकाइको रूपमा खुम्च्याइएको र यसले गर्दा अनुसन्धान तथा विकासका कामहरू ओझेलमा परेको उहाँको तर्क छ।
सरकारको पछिल्लो तयारीप्रति लक्षित गर्दै डा. पुनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार, सरकारले विज्ञान र प्रविधि मन्त्रालयलाई बलियो बनाउनुको साटो उल्टै यसको 'बिउ' नै निर्मुल पार्न खोजेको भान भएको छ। विशेषगरी, नवप्रवर्तन (Innovation) सम्बन्धी कार्यहरूलाई उद्योग मन्त्रालय मातहत लैजाने सरकारी तयारीको उहाँले कडा आलोचना गर्नुभएको छ।
डा. पुनले नवप्रवर्तनलाई केवल उद्योग वा कलकारखानासँग मात्र जोडेर हेर्नु सरकारको संकुचित सोच भएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार नवप्रवर्तन जीवनका हरेक क्षेत्रमा आवश्यक हुन्छ। "नवप्रवर्तन भन्ने कुरा उद्योगमा मात्र सीमित हुँदैन; यो राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, संगीत र साहित्य लगायतका सबै विधामा उत्तिकै महत्वपूर्ण हुन्छ," उहाँले भन्नुभएको छ।