Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यान्सरको औषधि सहज उपलब्ध हुने

क्यान्सरको औषधि सहज उपलब्ध हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८३ आइतवार • ०६:३४:३१ बजे
  • 373
    SHARES
  • क्यान्सरको औषधि सहज उपलब्ध हुने

    विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको अवस्थामा अब ती औषधिको आपूर्ति सहज हुने भएको छ ।

    images

    औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनभित्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछन् । हाल ती औषधि सीमित स्थानमा मात्र उपलब्ध गराइँदै आएकामा अब देशभर सहज रूपमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

    'औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ', उनले भने, 'अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सजिलै उपलब्ध गराउने छौँ ।' उनले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले सहज पाइने बताए । क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।


    विभागले ती औषधि पाउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ ।


    किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ । सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ ।


    नेपालमा बिरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरूले महँगा भए पनि औषधि नेपाल आयात गरेर उपलब्ध गराइरहेको बताए ।


    उनले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिए । उनले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताए । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

  • सम्बन्धित विषय:

  • # सहज उपलब्ध हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology