गोरखा, ११ अक्टोबर (२०२६) - गोरखाको बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । बाढीले पक्की पुल, झोलुङ्गे पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलसहित विभिन्न स्थानका पुल बगाएको छ । नदी किनारका बस्ती तथा संरचनासमेत नराम्रोसँग प्रभावित भएका छन्।
इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो। त्यस्तै, चुमनुब्री गाउँपालिका–३, न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगेको छ ।
बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला बजारमा क्षति पुर्याउँदै त्यहाँको पुल बगाएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला हुँदै बूढीगण्डकी नदीमा आएको बाढीका कारण चार जना सम्पर्कविहीन भएका छन्।
उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठ बगाएको छ भने त्यहाँ बाँधिएका १५ वटा याक र नाकसमेत बेपत्ता छन् । पशुको हेरचाहमा खटिएका चार जना व्यक्ति सम्पर्कविहीन भएको बताइएको छ ।