जाजरकोट, ५ असार– जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ । तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन् । उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन् ।
शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन् । पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए । प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन् । अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ ।
डाक्टरमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै स्थानीय प्रशासनले अस्पतालको आवास नछोड्न निर्देशन दिएको छ। अस्पतालमा उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी र प्रहरी खटिएका छन् । अन्नपूर्ण पोस्टबाट