Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्यालय सञ्चालन गर्ने तरखरमा स्थानीय तहको

विद्यालय सञ्चालन गर्ने तरखरमा स्थानीय तहको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७७ बुधवार • १०:०२:०८ बजे
  • 2.0K
    SHARES
  • विद्यालय सञ्चालन गर्ने तरखरमा स्थानीय तहको

    कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए ।

    images

    यहाँको भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरेपछि विद्यालय सञ्चालक र व्यवस्थापन समिति अभिभावकको राय लिन व्यस्त छन् । भेलामा अधिकांश अभिभावकले विद्यालयमा बालबालिकाको भौतिक दूरी कायम, स्वास्थ्य सर्तकतालगायतका मापदण्ड अपनाएर दिनमा दुई पालोमा सञ्चालन गर्न राय दिएपछि नगरपालिकालाई निर्णयसहितको पत्र पठाएको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले बताए ।

    “अभिभावक भेलाको निर्णय, आवश्यक व्यवस्थापन र शिक्षकलगायतका सबै व्यवस्थापनसहितको निर्णय कपी हामीले नगरपालिकामा पठाएका छौँ”, प्रिन्सिपल ओझाले भने, “नगरपालिकाले केही दिनभित्र विद्यालय सञ्चालनका लागि पत्राचार गर्ने भनेको छ ।” उनले विद्यालयमा भौतिक दूरी, मास्क, स्यानिटाइजरलगायतका व्यवस्थापन गरेर मात्रै अध्यापन गराउने बताए । “बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ”, उनले भने, “यसरी गर्दा दुई सिफ्टमा २ सय विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।”

    उनले लकडाउनअघि विद्यालयमा ४ सय विद्यार्थी रहेको बताए । “लकडाउन अवधिमा अनलाइन कक्षा सञ्चालन गरिए पनि सानो कक्षामा त्यति प्रभावकारी हुनसकेन”, ओझाले भने, “कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुग्यो ।”

    त्यसैगरी भीमदत्त–१३ बडैपुरमा रहेको बालविद्या निकेतनले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ । “हामीकहाँ अहिले २५ प्रतिशत मात्रै विद्यार्थी अध्ययनरत छन्”, बालविद्या निकेतनका प्रिन्सिपल कृष्ण साउदले भने, “हामीले अभिभावकको भेलाबाट सहमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेका हौँ ।” उनले सामाजिक दूरी कायम र नियमित विद्यार्थीको तापक्रममापन, मास्क अनिवार्य र दैनिक विद्यालयमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको जानकारी दिए ।

    शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।

    “निर्देशिकामा विभिन्न सातवटा विकल्प छन्”, सुवेदीले भने, “त्यसमा उपयुक्त विकल्प छानेर सञ्चालन गर्नुपरे सम्बन्धित पालिकामा स्वीकृति लिनुपर्ने भनिएको छ ।” उनले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिले पनि विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार पालिकाको सहमति लिइ उपयुक्त विकल्पमा कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए ।

    कञ्चनपुरमा पछिल्लो केही समययता विद्यालय सञ्चालनमा आउने क्रम जारी रहेको सुवेदीले जानकारी दिए । यहाँ २ सय ४९ निजी र २ सय ६१ सामुदायिक विद्यालय छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पालिकाभित्र विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

    उनले आजदेखि कक्षा ९ देखि १२ सम्म र मंसिर २१ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । “आजसम्म विद्यालयलाई कुन विधि र विकल्पबाट सञ्चालनमा ल्याउने भनेर अभिभावक भेला, जनप्रतिनिधि र संघसंस्थाको रायसहित निर्णय लिएर आउन भनेका छौँ”, चन्दले भने । वेदकोट नगरपालिकाले विद्यालयमा स्यानिटाइजर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने चन्दको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology