कोरोनाविरुद्धको खोप उपलब्ध नभएसम्म काठमाडौं उपत्यकाका विद्यालयहरु सञ्चालन नगर्न विज्ञहरुले सुझाएका छन ।
तत्काल विद्यालय खोले कोरोना संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम रहेको विज्ञहरुको भनाई छ ।
तत्काल विद्यालय खोल्दा मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरुले बताएका छन ।
कोराना संक्रमणको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्न नहुने विज्ञहरुको तर्क छ ।
जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण फैलिन सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवम् भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् । उनीहरुकै माध्यमबाट आफ्नो घर, छरछिमेक र समुदायमा सहजै संक्रमण फैलाउन सक्छन् । यसले बिरामीमा जटिलतासँगै मृत्युदर पनि बढाउन सक्छ ।’
काठमाडौंको सहरी क्षेत्र अझै कोभिडको उच्च जोखिममा रहेको छ भने कोरोना संक्रमणको दोस्रो लहर आउने सम्भावना समेत कायम रहेको डा. पाण्डले बताए ।