एजेन्सी । कोरोना भाइरसको विश्वब्यापी महामारी झन झन बढिरहँदा यसको निदान र रोकथामका लागि थुप्रै प्रयासहरु भैरहेका छन । त्यस्तै यसको उत्पत्ति र फैलावट बारे पनि थुप्रै अनुशन्धानहरु भएका छन । यसै सन्दर्भमा कोरोना भाइरस हावाबाट पनि फैलन्छ भन्ने विषयको उठान केही समयअघि भएको थियो ।
यद्यपी यसमा वैज्ञानिकहरु एकमत हुन सकेका थिएनन् भने विश्व स्वास्थ्य संगठनले पनि यो तर्कलाई स्विकार गरेको थिएन । तर अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई आफ्नो धारणा संशोधन गर्न विश्वका २३९ जना वैज्ञानिकहरुले आग्रह गरेका छन । उनीहरुका अनुसार कोरोना भाइरस हावाबाट पनि फैलन्छ ।
विभिन्न ३२ मुलुकका २३९ वैज्ञानिकहरुले गरेको अनुशन्धान अनुसार कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्न सक्ने बताइएको हो । उनीहरुका अनुसार कोरोना भाइरसयुक्त स–साना कणहरु हावामा बाँच्न सक्छन र मानिसमा सजिलै सर्न सक्छन । यसअघि डब्ल्युएचओले यो तर्कलाई ठाडै अस्विकार गरेको थियो ।
कोरोना भाइरस केवल थुक र र्यालका स–साना कणहरुबाट मात्रै सर्छ भन्ने उसको दावी थियो । कोरोना संक्रमित ब्यक्तिले बोल्दा, खोक्दा र हाछ्यँु गर्दा भाइरसयुक्त स–साना कणहरु बाहिर निस्कन्छ । तर यी कणहरु हावामा उड्नसक्ने खालका हुँदैनन् भन्ने अडान डब्ल्युएचओको थियो ।
न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार वैज्ञानिकहरुले डब्ल्युएचओलाई आफ्नो धारणा संशोधन गर्न आग्रह गरेका छन । वैज्ञानिकहरुले एक खुल्ला पत्र लेख्दै डब्ल्युएचओलाई यस्तो आग्रह गरेका हुन ।
विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुको समुहले जनाए अनुसार हावाबाट कोरोना भाइरस सर्छ भन्ने तथ्य र प्रमाणसहितको रिपोर्ट आगामी साता साइन्टिफिक जर्नलमा प्रकाशित हुनेछ ।
वैज्ञानिकहरुले यस्तो दावी गरिरहँदा डब्ल्युएचओका कोरोना टेक्निकल टिमका प्रमुख डाक्टर बेनेडेटा अलेग्रान्जीले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने सम्भावना रहेपनि अहिलेसम्म ठोस प्रमाण फेला नपरेको प्रतिकृया दिएका छन ।