एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पानीबाट उड्ने भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । अर्थात भू–उपग्रहमा इन्धनको रुपमा पानी भरिने छ । यो भू–उपग्रह लो–अर्थ अर्बिट अर्थात पृथ्वीबाट करिब १६० किलोमिटरको उचाईमा उड्ने छ । यदी नासाको यो योजना सफल भएमा इन्धनका लागि खर्च हुने पैसाको बचत हुनेछ ।
यो महिनाको अन्तसम्ममा पाथफाइण्डर टेक्नोलोजी डेमोन्सट्रेटर (Pathfinder Technology Demonstrator-PTD) अन्तर्गत पानीबाट उड्ने भू–उपग्रह क्युब सेट (Cube Sat) प्रक्षेपण गरिनेछ । यो भू–उपग्रहलाई स्पेशएक्स के फल्कन–९ रकेटद्वारा अमेरिकाको फ्लोरिडास्थित केप केनभेरल स्पेश सेन्टरबाट प्रक्षेपण गरिने नासाले जनाएको छ ।
क्युब सेट भू–उपग्रहलाई नासाले V-R3x भन्ने नाम पनि दिएको छ । यसले अटोनोमस रेडियो नेटवर्किङ र नेभिगेसनमा सहयोग पुर्याउने छ । यो सानो भू–उपग्रहका लागि अत्यन्तै नयाँ र किफायती प्रोपल्शन सिस्टमको आवश्यकता पर्ने PTD का प्रोजेक्ट मेनेजर डेविड मेयरले बताए ।
उनका अनुसार पानीबाट उड्ने यो भू–उपग्रहबाट अन्तरिक्षमा प्रदुषण पनि हुँदैन । यदी यो मिशन सफल भए भविष्यमा ठूला ठूला भू–उपग्रहहरुमा पनि यही प्रविधीको प्रयोग गरिने डेविडले बताए ।
डेविडका अनुसार जब भू–उपग्रहमा इन्धन भर्ने कुरा आउँछ, त्यसबेला सबैभन्दा पहिला त्यसबाट हुने सुरक्षा खतराको जाँच गर्नुपर्छ । जस्तो कि त्यसको ज्वलनशील क्षमत तथा त्यसबाट फैलने विषक्तताका बारेमा ब्यापक रुपमा जाँच गर्नु पर्छ । तर भविष्यमा पानीबाट उड्ने भू–उपग्रहमा यसखाले खतरा नहुने डेविडको तर्क छ ।
यसबाट भू–उपग्रहहरु आपसमा ठोक्किंदा विस्फोट हुने सम्भावना पनि टर्नेछ । क्युब सेट भू–उपग्रहको प्रोपल्शन सिस्टममा विशेष प्रकारको प्रविधिको प्रयोग गरिएको छ । यसले भू–उपग्रहमा भरिएको पानीमा रहेको हाइड्रोजन र अक्सिजनका कणलाई टुक्र्याएर उर्जा उत्पन्न गराउँछ । जसले भू–उपग्रहलाई उड्न सघाउँछ ।
त्यस्तै क्युब सेट भू–उपग्रहमा जडान गरिएको सोलार प्यानलले सूर्यको किरणबाट उर्जा उत्पादन गरेर भू–उपग्रहमा प्रयोग गरिएको प्रोपल्शन सिस्टमलाई सक्रिय बनाउँछ । त्यसले नै पानीमा रहेको हाइड्रोजन र अक्सिजनका कणहरुलाई टुक्र्याउने महत्वपूर्ण भूमिका खेल्छ ।
PTD का प्रोजेक्ट मेनेजर डेविड मेयरले बताए, “जब हाइड्रोजन र अक्सिजन ग्याँसमा बदलिन्छ, त्यसबाट अत्यन्तै धेरै उर्जा उत्पन्न हुन्छ । जसबाट भू–उपग्रहको दिशा निर्धारण, सुरक्षा र गतिशील चालमा सहजता उत्पन्न हुन्छ । यो निकै सुरक्षित उर्जा प्रणाली हो । यसबाट भविष्यमा थुप्रै भू–उपग्रहहरु प्रक्षेपण गर्न सकिनेछ ।”
डेविडका अनुसार पानीमा कुनै पनि विषाक्त पदार्थ हुँदैन । यो ज्वलनशील पनि हुँदेन । यो अन्य ईन्धनको तुलनामा स्थिर हुन्छ । तसर्थ यस्तो ईन्धनको सहयोगमा भू–उपग्रह प्रक्षेपण गर्नु निकै सस्तो र सुरक्षित हुन्छ । पानी निःशुल्क रुपमा उपलब्ध हुने भएकाले यसको प्रयोग सस्तो, सुरक्षित र अत्यधिक उपयोगी हुने नासाले जनाएको छ ।