एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसका बारेमा अध्ययन अनुशन्धानको क्रम पनि विश्वब्यापी रुपमै चलिरहेको छ । कोरोना भाइरसको उत्पत्ति, लक्षण, संक्रमणको कारण, गति र रोकथामका उपाय जस्ता थुप्रै थुप्रै विषयहरु बारे अनुशन्धानको क्रम चलिरहेको छ ।
सबैको एउटै उद्देश्य हो, केरोना संक्रमित विरामीलाई छिटो भन्दो छिटो निको पार्न सकियोस । यहि सन्दर्भमा वैज्ञानिकहरुले कोरोना भाइरसको प्रकारका बारेमा नयाँ तथ्य पत्ता लगाएका छन ।
कोरोना भाइरस ६ प्रकारका हुने वैज्ञानिकहरुले दावी गरेका हुन । लण्डनको किंग्स कलेजका अनुशन्धानकर्ताहरुले लक्षणका आधारमा कोरोना भाइरसलाई ६ प्रकारमा वर्गिकरण गरेका हुन ।
उनीहरुका अनुसार टाउको दुख्ने र गन्ध सुंघ्ने क्षमतामा कमी आउने लक्षण सबै प्रकारका कोरोना संक्रमणमा हुन्छ । पहिलो र दोस्रो नम्बरको कोरोना संक्रमण हुँदा सामान्य फ्लुको जस्तो लक्षण देखिन्छ । ज्वरो नआउन पनि सक्छ ।
तेस्रो प्रकारको भाइरसको संक्रमण हुँदा डायरियाको लक्षण देखिन्छ । त्यसैगरी पाँचौं र छैठौं प्रकारको कोरोना भाइरसले थकाइ लाग्ने, चक्कर आउने र सास फेर्न गारो हुने जस्ता लक्षण देखिन्छ ।
खासगरी छैटौं प्रकारको भाइरस संक्रमण भएको विरामीमा स्वास प्रश्वासको समस्या अधिक हुन सक्छ । कोरोना भाइरस संक्रमित १,६०० विरामीहरुमा अध्ययन गरेको आधारमा वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन ।
पहिलो नम्बरको भाइरस संक्रमित १.५ प्रतिशत विरामी, दोस्रो प्रकारको भाइरस संक्रमित ४.४ प्रतिशत विरामी, तेस्रो प्रकारको ३.३ प्रतिशत विरामीलाई सास फेर्नका लागि अक्सिजनको सहयोग दिनु परेको अध्ययनबाट पत्ता लाग्यो ।
त्यसैगरी चौथो, पाँचौं र छैठौं प्रकारको कोरोना भाइरस संक्रमण भएका क्रमशः ८.६ प्रतिशत, ९.९ प्रतिशत र १९.८ प्रतिशत विरामीमा अक्सिजन दिनुपर्ने अवस्था देखियो ।
लण्डनको किंग्स कलेजमा कार्यरत विशेषज्ञ एवं यो अनुशन्धानका सह लेखक डा. क्लेयर स्टीव्सले भने, ‘कुन प्रकारको कोरोना भाइरसको संक्रमण भएको हो भन्ने कुरा संक्रमण भएको पाँचौं दिनमा पत्ता लगाउन सक्ने हो भने, समयमै विरामीको उपचार गरी जीवन बचाउन सकिन्छ ।’
वैज्ञानिकहरुले प्राप्त गरेको यो सफलतालाई कोरोना संक्रमित विरामीको जीवन बचाउने सन्दर्भमा राम्रो उपलब्धी मानिएको दि सन पत्रिकाले जनाएको छ ।