Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको पर्यटकीय बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

तनहुँको पर्यटकीय बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १५:२१:२९ बजे
  • 2.4K
    SHARES
  • तनहुँको पर्यटकीय बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने

    तनहुँ - तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ । दुई महिनाभित्र केबुलकारको टर्मिनल भवन पनि निर्माण सकिन्छ शर्माले भने ।

    images

    कामले गति लिइरहेको बेला गत वर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएको थियो । कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार सञ्चालनमा आइसक्थ्यो उनले भने ,अब दशैँमा सञ्चालन गर्ने गरी तयारी गरेका छौँ । शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना छ ।

    पन्ध्र तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ । बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ । होटेलबाट सूर्योदय देख्न सकिनेछ । यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत रु ८० करोड छ ।

    कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । परियोजनाले दशौँ हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ । बन्दीपुर गाउँपालिका ४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० वारपार गर्न सक्नेछन् ।

    एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

    केबुलकार परियोजनाका लागि दुई बैँकले कर्जा लगानी गरेका छन् । बैँकिङ पार्टनरको रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड छन् । बन्दीपुर केबलकार एण्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९ ६१ रहेको छ । परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बन्दीपुर
  • # केबुलकार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology