पोखरा । आज सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ ।
कोरोना संक्रमण घटेको मौका पारेर सरोकारवाला सरकारी निकाय र पर्यटनसंग सम्वद्ध विभिन्न संघ संस्थाले भौतिक रूपमै दिवस मनाउँदैछन् ।
पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा गठीत ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समितिले पनि भौतिक रुपमै कार्यक्रम आयोजना गर्दैछ ।
गण्डकी प्रदेश सरकारको निमन्त्रणमा हिजो विभिन्न ११ देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २८ जना पोखरा पुगेका हुन ।
कतार, जर्मनी, श्रीलंका, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, बंगलादेश, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन् ।
उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुलाई फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरेका थिए ।
लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । यो कार्यक्रमले पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश दिनेछ ।
गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।
यस्तै, बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । सोमबार पर्यटन दिवस समेत परेकोले टोलीले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ ।
पदयात्रा बढीमा दुई घण्टाको हुनेछ । कास्कीको नौडाँडाबाट ९ बजे चियापानपछि पदयात्रा सुरु हुनेछ । त्यसपछि दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्ने कार्यक्रम छ ।
साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सहभागी हुनेछ । त्यस दिन साँझ वाराहीचोकमा हुने आरती देखाइने छ ।
दुई दिनलाई पोखरा आएका राजदूत र अन्य आमन्त्रित पाहुना पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय र फेवाताल पनि घुम्ने छन् ।