नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र पहलमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद केही मत्थर भएजस्तो देखिएका बेला दाहालले पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।
पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रक्रिया सुरु हुनु र देशभरि जिन्दावाद–मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रस्ट पार्ने बताउँदै दाहालले थपे, ‘पार्टी संकटमा छ । साँचो कुरा के हो भने अहिले ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य होइन ।’
प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेसँगै विवाद मत्थर भएको र दुई अध्यक्ष मिलेको चर्चा चलेको थियो । तर अध्यक्ष दाहालले पार्टीभित्र जारी विवाद नसल्टेको स्पष्ट संकेत गर्दै पार्टीभित्र छलफल चलिरहेका बेला देशभरि मुर्दावाद र जिन्दावादका नारा चलेकोप्रति गुनासो पनि गरे । ‘हामी पार्टीमा छलफलमा छौं । पार्टीलाई कसरी एकताबद्ध गर्ने, पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौं,’ दाहालले भने, ‘तर देशभरि जुलुस भएको छ । देशभरिका साथीहरूले हामी के गर्ने भनेर सोधिरहेका छन्, हामीले धैर्य गर्नुहोस्, अहिले केही गर्न पर्दैन, पार्टी एकताको पक्षमा उभिनुस् भनेर भनिरहेका छौं ।’ उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।