Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हत्याकाे दुई वर्ष पुग्दा पनि निर्मलाकाे हत्यारा पत्ता लागेन

हत्याकाे दुई वर्ष पुग्दा पनि निर्मलाकाे हत्यारा पत्ता लागेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • ११:४७:०६ बजे
  • 1.7K
    SHARES
  • हत्याकाे दुई वर्ष पुग्दा पनि निर्मलाकाे हत्यारा पत्ता लागेन
    निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ । निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो । सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए । तर दुई वर्षसम्म घटना रहस्यमै छ।

    घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन् । ‘छोरीको हत्या भएको पनि दुई वर्ष पुगिसक्यो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘अझै न्याय पाउन सकिएको छैन ।’ निर्मलाको न्यायका लागि देशदुनियाँ लडेको बताउँदै उनले भनिन्, ‘न्यायका लागि सबैले आवाज उठाए तर पनि प्रहरीले अपराधीलाई समात्न सकेन ।’

    न्यायका लागि आवाज उठाउँदा मानिसको ज्यानसमेत गएको बताउँदै निर्मलाका बुवा यज्ञराजले भने, ‘म त न्याय माग्दामाग्दै थाकिसकें ।’ उनले उल्टै प्रश्न गरे, ‘सरकारसँग सोधिदिनुस्, न्याय दिन किन चासो नदेखाएको हो ?’ न्याय माग्न जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बसेको बताउँदै उनले भने, ‘धर्ना बस्दाबस्दै म उल्टै बिरामी भएर बढी पीडित भएँ तर पनि न्याय पाइएन ।’

    प्रहरीले सिआइबीसमेत गरी विभिन्न छानबिन समिति बनाएर अनुसन्धान गरे पनि हत्यारा को हो भन्न टुंगो लगाउन अझै सकेको छैन । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं । सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पुर्‍याउन प्रयत्नरत छौँ ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ ।

    प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेको कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन । एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल छ ।


    सुरुमा दिलीप बिष्टलाई निर्दोष भन्दै आएकी दुर्गादेवीले पछि उनै दिलीप दोषी भन्दै गत भदौमा किटानी उजुरी दिएकी थिइन् । तर बलियो प्रमाण नभएकाले प्रहरीले मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपलाई दोस्रोपटक पक्राउ गर्न सकेको छैन । यसअघि दिलीपलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा गोली चलेर एकजनाको ज्यान गएको थियो । डिएनए नमिलेपछि दिलीप रिहा भएका थिए । मानसिक सन्तुलन गुमाएका दिलीपलाई यातना दिएर प्रहरीले दोष सकार्न लगाएको भन्दै उपचारका लागि ३६ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको थियो ।

    अन्य प्रमाण नभए पनि प्रहरीलाई दिएको भिडियोका आधारमा शंका लागेर दिलिपविरुद्ध किटानी जाहेरी दिएको दुर्गादेवीले बताइन् । ‘कोही पनि अपराधी पत्ता नलागेपछि गत भदौमा भिडियोमा भनेको कुराका आधारमा शंका लागेर दिलीप बिष्टविरुद्ध किटानी उजुरी दिएकी हुँ,’ दुर्गादेवीले भनिन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology