Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुर्तिजन्य पदार्थको सेवन तपाईका लागि कति हानिकारक,यस कारण तपाइले सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्नुहोस...

सुर्तिजन्य पदार्थको सेवन तपाईका लागि कति हानिकारक,यस कारण तपाइले सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्नुहोस...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १९:५७:४४ बजे
  • 2.1K
    SHARES
  • सुर्तिजन्य पदार्थको सेवन तपाईका लागि कति हानिकारक,यस कारण तपाइले सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्नुहोस...

    विहान जुरुक्क उठ्ना साथ खैनी माड्ने र मुखमा च्याप्ने, थुक्ने, नभए गुड्खाको प्याकेट खोलेर सिधै मुखमा खन्याउने वा चुरोट सल्काएर धुँवा उडाउने यो धेरैको आदत बनिरहेको छ ।महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोर किशोरीरु, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै किन नहोस् चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् । एक दिन, दुई दिन , साथीको सिको गर्दै तपाईले सिकेको यो आदत तपाईका लागि कति हानिकारक बनिरहेको छ ? तपाईका कारण अरु घर परिवार र समाज कति प्रभावित बनिरहेका छन् र तपाई स्वयंको स्वास्थ्यले कस्तो रुप लिदैछ भन्ने महसुस गर्नु भएको छ ? यसै धुम्रपानका कारण पारिवारीक वाद विवाद र आर्थिक नोक्सानी पनि भईरहेको हुन्छ । सरकारी तथ्याङक अनुसार नेपालमा बर्षैपिच्छे २७ हजार १३७ व्यक्ति अर्थात् प्रतिघन्टा तीनजनाको सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान जाने गरेको छ ।

    images

    यो नेपालको कुल मृत्युको १४.९ प्रतिशत हो । अर्थात्, १०० मध्ये १५ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवन सिर्जित स्वास्थ्य समस्याबाट हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग बढी मात्रामा लाग्ने गरेको छ । कुन नेपालको जनसंख्याको करीब २९ प्रतिशत नागरिकहरु सुर्तिजन्य पदार्थको सेवन गर्ने बताईन्छ । यो निकै डरलाग्दो तथ्याङ्क हो । यसै गरी विश्वमा बर्षेनी ८० लाख मानिसहरुको मृत्यु सुर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको पाईएको छ । डब्लुएचओका अनुसार छेउमा बस्ने मानिसले खाएको चुरोटको धुँवाको असरले मात्रै वर्षभरीमा १२ लाख मानिसको ज्यान जाने गरेको छ । यसरी दिनहुँ सुर्तिजन्य सेवनले नागरिकको स्वास्थ्यमा परेको असर, उत्पादकत्व क्षमतामा कमी र रोगका कारण हुने उपचारमा लाग्ने खर्च मात्रै वर्षेनी अर्बौ रुपैया खर्च हुने गरेको छ ।

    सुर्तीजन्य पदार्थको सेवनले सेवनकर्तालाई मात्र क्षति गरिरहेको हुँदैन, यसको भार सिंगो राष्ट्रले ने व्यहोर्नुपरिरहेको हुन्छ । सन् २०२० मा मात्र नेपालको कुल गार्हस्थ्य उत्पादनको १.०४ प्रतिशत अर्थात् करिब ४० अर्ब आर्थिक क्षति व्यहोर्नुपरेको नेपाल विकास अनुसन्धान प्रतिष्ठानको एक अध्ययनले देखाएको छ । नेपालमा सुर्तीजन्य पदार्थको प्रभावलाई कम गर्न र यसको उपभोगलाई नियन्त्रण गर्न विभिन्न नीति नियम र अन्तर्राष्ट्रिय मापदण्डसहितका प्रोटोकलहरू अवलम्बन भएका छन् । हरेक वर्ष जस्तै यो वर्ष पनि सुर्तीजन्य पदार्थ छोड्नुहोस, विजेता हुनुहोस् भन्ने नारा सहित ३१ मे मा यो दिवस नेपालमा पनि मनाईयो । यो दिवसको मुख्य उदेश्य नै सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न भएका समस्याहरुबारे सचेत गराउदै यसको नियन्त्रणमा प्रभावकारी अभियान चलाउनु रहेको छ ।

    यो सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुद्धारा अनुमोदन गरिएपछि यो दिवस मनाउन शुरु भएको हो । सुर्तीजन्य पदार्थ भन्नाले धुम्रपान वा सुर्ती सेवनको निमित्त बनाईएको चुरोट, विडि, तमाखु, सुल्फा, खैनी,गुट्खा वा यस्तै प्रकारको बस्तुलाई बुझिन्छ । धुम्रपान तथा सुर्ति सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ र यसले मानव जीवनको भौतिक, मानसिक, सामाजिक,आर्थिक र सांस्कृतिक जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यसले क्यान्सर जस्ता गंभीर रोगहरु पैदा गरेर मानिसको जीवनलाई क्षति पुर्याईरहेको छ । सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण गरी नागरिकको स्वास्थ्यको अभिवृद्धि गर्न सुर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यको नियन्त्रण गर्न सूर्तिजन्य पदार्थ ( नियन्त्रण र नियमन ) ऐन नियम र कानुनहरु बनाएर कार्यन्वयन गरिरहेपनि यसलाई नियन्त्रण गर्न अझै चुनौती देखिएको छ ।

    सूर्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ ले सूर्तिजन्य पदार्थको नियन्त्रण, उत्पादन तथा विक्रि, वितरण, निरिक्षण, अनुसन्धान तथा मुद्दा दायरि र उल्लेखित प्रावधानहरुको उल्लंघन भएको खण्डमा सजाय तथा पुनरावेदन र विविध गरि परिच्छेद २ देखि परिच्छेद ६ भित्र उल्लेख गरेको छ । प्रस्तुत ऐनको परिच्छेद २ मा सूर्तिजन्य पदार्थको नियन्त्रण सम्वन्धी व्यवस्था छ। सार्वजानिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नहुने साथै आफ्नै घर तथा निजी सवारी साधन भित्र पनि अन्य व्यक्तिलाई असर हुने गरि धुम्रपान गर्न नहुने प्रावधान वनाईएको छ ।

    त्यसै गरि परिच्छेद ३ ले सूर्तिजन्य पदार्थको उत्पादन तथा विक्रि वितरण क्षेत्रमा प्रकाश पार्दछ। उत्पादकले सूर्तिजन्य पदार्थमा लेबुल, ट्रेडमार्क,र्यापर्स तथा प्याकिङमा विशेष ध्यान पुर्याउनुपर्ने र विक्रि वितरण गर्न अघि यस्तो पदार्थमा भएको निकोटिनको मात्रा, हानिकारक तत्व लगायत अन्य कुराहरु उल्लेख गर्नुको साथै निकासी पैठारि गर्ने व्यक्तिले हरेक वर्ष अफुले गरेको उत्पादन तथा निकासी पैठारिको विवरण मन्त्रालय समक्ष पेश गर्नुपर्ने, उत्पादकले सुर्तीजन्य पदार्थको बट्टामा र्यापर्स, प्याकेट र लेबुलको बाहि कुलभाग मध्ये कम्तिमा ७५% भागमा सुर्तिजन्य पदार्थ हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतनावनि मुलक सन्देश तथा चित्र उल्लेख गर्नेपर्ने साथै यस्तो पदार्थको कुनै प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाईने प्रावधानहरु उल्लेख गरिएको छ । यसै ऐनको परिच्छेद ४मा निरिक्षण अनुसन्धान तथा मुद्दा दायरि सम्वन्धी प्रावधान व्यख्या गरिऐको पाईन्छ। यहाँ कसैले ऐनको प्रावधान विपरितको काम पुरा गरे वा नगरेको सम्वन्धमा निरिक्षण गर्ने समेतको लागि नेपाल सरकारले अधिकृत कर्मचारिलाई निरिक्षकको रुपमा तोक्न सक्ने र निरिक्षक भई तोकिएको ले वर्षभरिमा आफुद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्ने छ। यस बाहेक व्यवस्थापक आफैले आफुसँग सम्बन्धित सार्वजानिक स्थलमा यस्तो कार्य गरेको वा नगरेको सम्वन्धमा समय समयमा निरिक्षण गर्नुपर्ने र उजुरि आईपरेको खण्डमा निरिक्षकले अनुसन्धान तथा तहकिकात समेत गर्नुपर्ने र त्यस पश्चात मुद्दा चलाउने देखिएमा निरिक्षकले त्यसरि अनुसन्धान सकिइको २५ दिन भित्र मुद्दा हेर्ने अधिकारि समक्ष मुद्दा दायर गर्नु पर्ने कुरा यहा उल्लेखित छ। अनततःयस ऐनको मुख्य उदेश्य पनि विश्व धुम्रपान रहित दिवसको झै धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवन र गैरकानुनि वितरणमा रोक लगाई पुणर् रुपमा व्यक्तिको निकोटिन प्रयोगलाई नियन्त्रण गर्नु हो।

    सुर्तीजन्य पदार्थ सेवनको मात्रा घटाउनका निमित्त बनाईएका ऐन तथा गरिएका प्रयासहरु बाबजुद, नेपालमा विगतको दशकमा सुर्तीजन्य पदार्थको प्रयोग दर निरन्तर उच्च नै रहेको देखिन्छ । नेपालमा सन् २०१२/०१३ मा प्रयोग दर ३०.८ प्रतिशत रहेकोमा विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा गरेको स्टेप सर्वेक्षणले यो दर २८.९ प्रतिशत रहेको देखाएको छ । सन् २०१२/०१३ देखि २०१९ सम्म आइपुग्दा यसको व्यापकतामा केवल ०.९ प्रतिशत सुधार भएको देखिन्छ । तर, नेपाल विकास अनुसन्धान प्रतिष्ठानले २०१९/०२० मा गरेको सर्वेक्षणमा भने यो अझै बढेर ३१.७ प्रतिशत पुगेको पाइएको छ । त्यसैगरि हालको विश्वव्यापी कोभिड-१९ माहामारि को बखत, अन्वेषकहरुले धुम्रपान तथा सूर्तिजन्य र प्रतिकुल कोभिड १९ रोगको नतिजा सम्बन्धमा ध्यानाकर्षण गर्दै धुम्रपान गर्नेहरुलाई त्याग्न जोडिदिएको छन् ।

    यु एस सर्जन जनरलको रिपोर्टले देखाएको प्रमाणले सिगरेट धुम्रपानले प्रतिरक्षा प्रणालीलाई दमन गर्ने, श्वासप्रश्वासको संक्रमण जोखिम बढाउने जस्तै पुरानो अवरोधक फुफ्फुसिय रोग ,दम ,हृदय र फोक्सोको रोग लाग्न सक्ने हुदाँ सिग्रेट धुम्रपान गर्ने मानिसहरुको लागि कोरोना भाईरस अझ बढि खतरनाक र अन्य प्रकारका भाईरसका लागि पनि गम्भिर किल्निकल परिणामहरु सँग सम्बन्धित भएको कुरा देखाएको छ । हालै भारतले तम्बाखु उत्पादनमा प्रतिवन्ध लगाएको छ भने दक्षिण अफ्रीकाले पनि सुर्तिजन्य उत्पादनहरुको विक्रि वितरणमा प्रवितबन्ध लगाउदै लगेको छ । यस सन्दर्भमा नेपालमा पनि दिन दिनै बढीरहेको सुर्तिजन्य पदार्थको प्रयोग र हानिकारक परिणामहरुलाई ध्यान दिदै नियन्त्रणमा अझ ठोस कदमहरु चाल्नु पर्ने देखिएको छ । अतः तपाईले आफ्नै लागि, आफ्नो परिवारका लागि, समाजको लागि देशका लागि पनि हानिकारक सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्नुहोस् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology