उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।
यती एयरलाइन्सविरुद्ध स्थापित उक्त नजिरलाई आधार मानेर फैसला भएको हो । न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले प्राविधिक कारणले सेवा रोकिए पनि सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकले मनासिब क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो ।
काठमाडौं जिल्ला अदालतले उक्त माग दाबीलाई अस्वीकार गरेको थियो । निवेदक अधिवक्ता राजकुुमार सुवालले जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरेका थिए । जिल्ला अदालतले २०७६ वैशाख ४ गते मागदाबी अस्वीकार गर्दै फैसला गरेको थियो ।
तर उच्च अदालतले भने सेवा उपलब्ध नगराएकोमा क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको हो । उच्च अदालतको फैसलामा भनिएको छ, ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रदान गरेको मोबाइल नम्बरमा बादीले शुल्क बुझाइसकेपछि करिब १४ घण्टासम्म मोबाइल सुविधा प्रदान गरेको नदेखिएको अवस्थामा दाबीबमोजिम मनासिब क्षतिपूर्ति विचार गरी भराई दिनुपर्नेमा सो नगर्ने गरी दाबी पुग्न नसक्ने ठहर गरी सुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई दाबीअनुसार बादीलाई प्रतिवादीले समयमा सेवा उपलब्ध नगराएबापत पुग्न गएको क्षतिस्वरूप प्रतिवादी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट मनासिब माफीको रु १५ हजार क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ ।’
मुलुकी देवानी संहिताले कुनै गल्तीका कारण अर्को व्यक्तिलाई हानि नोक्सानी पुगेमा क्षतिको दायित्व गल्ती गर्ने व्यक्तिमा हुने व्यवस्था छ । संहिताको उक्त व्यवस्थामा भनिएको छ, ‘कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानि नोक्सानी हुन गएमा त्यसरी हानि नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ