Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

भाद्र १ देखी लमजुङ घले गाँउको होम स्टे पर्यटनका लागी खुल्ला

भाद्र १ देखी लमजुङ घले गाँउको होम स्टे पर्यटनका लागी खुल्ला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७७ सोमवार • ११:११:२१ बजे
  • 6.2K
    SHARES
  • भाद्र १ देखी लमजुङ घले गाँउको होम स्टे पर्यटनका लागी खुल्ला
    पोखरा । कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका लागि खुला रहने भएको छ ।

    उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेज क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरबास पर्यटकका लागि खुला गर्न लागिएको निर्णय ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आइतबार बसेको बैठकले गरेको हो ।

    लामो समयदेखि बन्द यहाँका घरबास स्वास्थ्य सावधानी अपनाउँदै आन्तरिक पर्यटकका लागि खुला गर्न लागिएको समितिका अध्यक्ष तथा सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । कोरोनाको त्रास रहे पनि यस सँगसँगै अघि बढ्नका लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरबासमा आउने पर्यटक तथा घरबास सञ्चालकले नियमित हात धुने, अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा लगाउनुपर्ने साथै सामाजिक दूरीसमेत कार्यम गर्नुपर्ने उनको भनाइ छ ।
    घरबास सरकारले तोकेको मापदण्डभित्र रहने छन् ।

    यसअघि यहाँका घरबासमा पर्यटक आए वा पर्यटक राखेमा घरबास सञ्चालक दुवैलाई जरिवाना तोकिँदै आएको थियो । पर्यटकका लागि घरबास खुला गरिए पनि तत्कालका लागि भने जिल्लाभित्रका आन्तरिक पर्यटकका लागि मात्र खुला गरिएको र बाहिरी जिल्ला तथा बाह्य पर्यटकका लागि भने खुला भइनसकेको घरबासका सचिवालय सदस्य दीर्घराज घलेले बताए ।

    त्यस्तै घरबासमा प्रत्येक कोठामा क्षमताभन्दा आधा मात्र राखिने छ । परिवार नै आएमा एउटै परिवारका सबै जना एकै ठाउँमा राखिने समितिले जनाएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रोलगायत नृत्य तथा भीडभाड बढी हुने कार्यक्रम भने घरबासमा तत्काल नहुने भएको छ ।यहाँ आएका पर्यटकलाई यसअघि प्रतिव्यक्ति करीब १ हजार लिइँदै आएको शुल्क नै कायम हुने भएको छ ।

    नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरबास विसं २०५७ देखि शुरु भएको थियो । घलेगाउँ समुद्री सतहबाट दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण छ । यो आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । ३२ घर दलित र ९३ घर गुरुङका गरी १ सय २५ घरधुरीका स्थानीयवासीको बसोबास रहेको यहाँ घले (गुरुङ ) र दलित समुदायले घरबास चलाएका छन् ।लमजुङ सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करीब तीन घण्टा र पैदलयात्रा गरेमा करीब पाँच घण्टा लाग्छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology