Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इतिहास रच्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा

इतिहास रच्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७८ बुधवार • १९:२९:०२ बजे
  • 1.9K
    SHARES
  • इतिहास रच्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा

     नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १—१ गोलको बराबरी खेल्दै नेपालले प्रतियोगिताको १३औँ संस्करणमा इतिहास रचेको हो ।

    images

    खेलको आठौँ मिनेटमा सुमन रेजाको गोलसँगै पछाडी परेको नेपालले १० जनामा सीमित भएको बंगलादेशविरुद्ध ८८औँ मिनेटमा बराबरी गोल फर्काउँदै फाइनल यात्रा तय गर्‍यो । नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए ।

    त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो । माल्दिभ्समा जारी प्रतियोगिताको फाइनल पुग्नका लागि कम्तिमा बराबरी नतिजा निकाल्नु पर्ने बाध्यतामा रहेको नेपालले आठौं मिनेटमा गोल खाएको थियो ।

    मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको खेलको आठौँ मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि(किक पाएको थियो । सोही फ्रिकिकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

    फ्रि(किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए । खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए ।

    लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

    खेलको सुरुवातदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेको छैन । सुरुवातदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

    प्रतियोगिता १३औँ संस्करण सम्म आइपुग्दा नेपाल भने एक पटक पनि फाइनल पुग्न सकेको थिएन । प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो ।

    त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।

    राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology