आयोजक ओमानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १० विकेटले पराजित गर्दै ओमानले सुखद सुरुआत गरेको हो ।
अल अमारत स्टेडियममा पीएनजीले दिएको १ सय ३० रनको लक्ष्य ओमानले १३ ओभर ४ बलमा विना विकेटको क्षतीमा पूरा गर्यो । ओमानको सानदार जितमा ओपनरद्वय जतिन्दर सिंह र अकिब इल्यासले अर्धशतकीय इनिङ्स खेले ।
जतिन्दरले अविजित रहदै ७३ रन बनाए । अकिब ५० रनमा अविजित रहे । यस अघि पहिले ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो ।
पहिलो पटक विश्वकप खेलेको पीएनजीका लागि कप्तान असाद भालाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । चार्ल्स अमिनीले ३७ रन जोड्दा सेसे बाउले १३ रन जोडे ।
अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ओमानका जिसन मक्सुदले ४ विकेट लिए । कालिमुल्लाह र बिलाल खानले २/२ विकेट लिए । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।