पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औँ साफमा नेपाल दोस्रो भएको हो ।
नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको थियो ।
नेपाली टोलीलाई खेलकुदमन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारीलगायतले भव्य स्वागत गरे ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन्।
यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेसियामा लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् ।
यसअघि रोहित जाकार्ताबाट सिधैँ माल्दिभ्स पुगेका थिए । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो ।
भारतले भने राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो ।
यस्तै भारतसँग १–० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।