श्रीलंका आइसिसी टी–२० विश्वकप २०२१ को सुपर–१२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह ‘ए’बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो ।
योसँगै श्रीलंका सुपर–१२ मा पुग्ने पहिलो टोली बनेको छ । जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भएपछि श्रीलंका छनोट भएको हो ।
आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रनको योगदान दिए । कर्टिस क्याम्फरले २४ रन बनाए । श्रीलंका स्पिनर महेश थक्शेनाले ४ ओभरमा ३ विकेट लिए ।
चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए । यसअघि अबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो ।
श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर पाथुम निसंकाले ६१ रन जोडे । आयरल्यान्डका तीव्र गतिका युवा बलर जोश लिटिलले ४ ओभरमा ४ विकेट लिए ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह ‘बी’मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।