कुवेत - बिश्वकर्मा एकता समाज नेपाल कुवेतले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नंबर ४ का ५५ वर्षीय भीमबहादुर विश्वकर्माको हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
यही २०७८ असोज २६ गते बडादशैंको नवमीको दिनमा दुर्गा मन्दिरमा सबैले समान रुपमा पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाउदा जातीय कारणले असंभव भएको भन्दै स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले भीम बहादुर बिश्वकर्मालाई कुटीकुटी हत्या गरेका थिए ।
बिश्वकर्मा एकता समाज नेपाल कुवेतद्वारा जारी प्रेस विज्ञप्ति यस प्रकारको रहेको छ ।
२१औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाजमा चरम रुपमा जातीय भेदभाव र छुवाछुतका घटना बढिरहेको छ । नेपालको संविधानमा जातको आधारमा भेदभाव र छुवाछुत गर्नु दण्डनीय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव र छुवाछुत बिद्यमान नै छ । यसरी शिक्षित मानिसहरुबाट नै जातीय भेदभाव, छुवाछुत र जातकै आधारमा कुटीकुटी निर्मम हत्या हुनु दुर्भाग्यपूर्ण छ ।
चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नंबर ४ का ५५ वर्षीय भीमबहादुर विश्वकर्मामाथि यही २०७८ असोज २६ गतेका दिन स्थानीय दुर्गा मन्दिरमा सबैले समान रुपमा पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाउदा जातीय कारणले असंभव भएको भन्दै कुटीकुटी जघन्य हत्या गरेको घटनाप्रति बिश्वकर्मा एकता समाज नेपाल कुवेतले सो अमानवीय पासविक घट्नाको घोर भत्र्सना गर्दछ ।
उक्त घटनामा मृत्युवरण गर्नुभएका भिम बहादुर बिश्वकर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । पीडित पक्षबाट दिइएको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य–तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम हत्यारालाई कडाभन्दा कडा कारबाहीको लागि बिश्वकर्मा एकता समाज नेपाल कुवेतले सम्बन्धित सरोकारवाला निकाय संग जोडदार माग गर्दछ ।
