भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै टी–२० विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ । शुक्रबार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमा रोकेका थिए ।
भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले समान ३–३ विकेट लिए स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाए । ८६ रनको लक्ष्य पछ्याएको भारत ६ ओभर ३ बलमा ८९ रन बनाएर जित हासिल गर्न सफल भयो ।
केएल राहुलले ५० रनको इनिङ खेल्दा रोहितले ३० रनको योगदान गरे । शुक्रबारको जितपछि सुपर–१२ को समूह–२ मा भारत नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
चार खेलको समाप्तीसम्म शतप्रतिसत जितको यात्रालाई कायम राखेको पाकिस्तान आठ अंकका साथ शीर्ष स्थानमा रहँदा तीन जित हासिल गरेको न्युजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा छ ।
भारत र अफगानिस्तानको खातामा समान चार अंक भए पनि भारत स्कटल्यान्डमाथिको प्रभावशाली जितपछि नेट रनरेटमा अगाडि बढेको छ ।
भारतको रनरेट १।६१९ पुग्दा अफगानिस्तानको १.४८१ छ । एक खेलमा जित हासिल गरेको नामिबिया दुई अंकका साथ पाँचौं स्थानमा रहँदा सबै चार खेलमा पराजय भोगेको स्कटल्यान्ड पुछारमा छ । स
मूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब भारत सेमिफाइनल पुग्नका लागि न्युजिल्यान्ड आइतबार अफगानिस्तानसँग पराजित हुनुपर्ने छ । त्यसपछि सोमबार नामिबियालाई फराकिलो अन्तरमा हराउन सके भारतको अन्तिम चार यात्रा पक्का हुनेछ ।