नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छानिएको छ । योसँगै अब नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु पर्ने छैन ।
आईसीसी टी-२० वरीयताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोट खेल्ने अवसर मिलेको हो । वर्तमान समयमा नेपाल टी-२० वरियताको १३ औँ स्थानमा छ ।
नेपालले अब ग्लोबल छनोटमा जिम्बाबे, यूएई, हङकङ र पपुवा न्युगिनीसँग खेल्नेछ । ग्लोबल छनोट आगामी वर्षको फेब्रुअरी तथा मे महिनामा हुनेछ ।
सिधैं ग्लोबल छनोट खेल्ने अवसर पाएपछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रतिक्रिया दिएका छन् । ‘सिधैं ग्लोबल छनोटमा पुग्नु राम्रो हो । यद्यपि यो चरण पार गर्न त्यति सहज छैन ।
हामीले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्नु छ । यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्छ,’ कप्तान मल्लले भने । उनले अब अभ्यास थाल्न ढिलो गर्न नहुने पनि बताए ।
‘छनोट प्रतियोगितालाई ध्यानमा राखेर अब तत्काल प्रशिक्षण थाल्नुपर्छ । एक महिनाको तयारीले पुग्दैन,’ मल्लले भने । ओमान भ्रमणपछि नेपाली टोली अहिले विश्राम गरिरहेको छ ।
तर खेलाडी भने व्यक्तिगतरूपमा अभ्यासमा व्यस्त नै रहेको उनले बताए । ‘ओमान भ्रमण सकाएपछि इपिएल सुरु भयो, सबै त्यसमै व्यस्त भए, त्यसयता हाम्रो क्लोज क्याम्प बसेको छैन ।
छनोटलाई मध्यनजर गरेर अभ्यास गर्नुपर्ने बेला भइसकेको छ, व्यक्तिगत अभ्यासले मात्रै काफी छैन,’ मल्लले भने । आगामी टी-२० विश्वकप अस्ट्रेलियामा हुनेछ ।
टी-२० विश्वकपको शीर्ष आठमा पुग्ने टोली सिधैं सुपर १२ मा पुगेका छन् । अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तान सिधै सुपर १२ मा पुगेका हुन् ।
श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड र नामिबिया पनि आगामी विश्वकपमा छनोट भएका छन् । यद्यपि यी ४ टोली पहिलो चरणमा रहेका छन् । आईसीसीका अनुसार (अष्ट्रेलिया)मा हुने विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन् ।