एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस हावामा जिउँदो रहन्छ भन्ने विषयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लगायत थुप्रै वैज्ञानिकहरुले स्विकार गरेका छन । यसबारे उनीहरुका थुप्रै विचारहरु विभिन्न माध्यममा प्रकाशित भएका छन । तर कोरोना भाइरस जेनेटिक मेट्रियलकासाथ हावामा जिउँदो रहन सक्छ भन्ने तर्क कहिं कतैबाट पनि आएको थिएन ।
तर हालै भएका विभिन्न अनुशन्धानका क्रममा वैज्ञानिकहरुले यो तर्कको पुष्टि गरेका छन । युनिभर्सिटी अफ फ्लोरिडाका वैज्ञानिकहरुले अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीदेखि १६ फुटको दुरीमा रहेको हावामा रहेका कोरोना भाइरसलाई अलग्याउन सफल भएका छन । यो सफलतासंगै वैज्ञानिकहरुले सामाजिक दुरीका लागि तय गरिने मापदण्डमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन ।
भायरोलोजिष्ट डाक्टर जन लेडनिकीले हावामा भाइरस रहेको तथ्य पत्ता लगाउँदै त्यसलाई अलग्याउन सफल भएका हुन । उनका अनुसार जुन कोठामा भाइरसलाई अलग्याइएको थियो, त्यो कोठाको हावालाई प्रत्येक घण्टा ६ पटकसम्म फेरिएको थियो । यसका बावजुद पनि एक लिटर हावामा कोरोना भाइरसका ७४ वटा कणहरु फेला परेका थिए ।
फ्लोरिडा युनिभर्सिटीको शेंड्स अस्पतालमा कोरोना संक्रमित विरामीका लागि तयार पारिएको वार्डमा यस्तो प्रयोग गरिएको थियो । यो अनुशन्धानका क्रममा वार्डमा हावाका दुईवटा नमुना लिइएको थियो । एउटा नमुना संक्रमित विरामीदेखि सात फुट र अर्को नमुना विरामीदेखि १६ फुटको दुरीबाट लिइएको थियो । दुवै नमुनामा मानिसलाई परास्त गर्न सक्ने मात्रा र क्षमताका भाइरस भेटिएका थिए ।
यो तथ्यलाई मध्यनजर गर्ने हो भने हावा निकासको प्रचुर ब्यवस्था अर्थात भेन्टिलेसन नभएको कोठामा त झनै धेरै भाइरसहरु भेटिनेछन । न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीकी भायरोलोजिष्ट डाक्टर एन्जेला रासमुसेनले भने यो तर्कलाई स्विकार गर्न सकिनन् । उनले भनिन्, “यो अनुशन्धानबाट प्राप्त भाईरस कुनै स्वास्थ मानिसलाई संक्रमित गर्न चाहिने अर्थात पर्याप्त हो भन्ने मलाई लाग्दैन ।”
युनिभर्सिटी अफ पीटर्सवर्गकी श्वास प्रश्वास रोग विशेषज्ञ डाक्टर सिमा लकडवालाको भनाई भने यो अनुशन्धानबाट प्राप्त तथ्यको पक्षमा देखियो । उनले भनिन्, “हालै प्राप्त यो नतिजाबाट झनै सावधान हुनुपर्ने भएको छ । नमुना लिंदा त्यसमा भाइरस भन्दा सय गुणा धेरै आरएनए हुन्छ ।”
अष्ट्रेलियाको मेलवर्न विश्वविद्यालयका एटमस्फेरिक केमिस्ट डाक्टर रोबिन स्कोफिल्डले कोरोना संक्रमित विरामी रहेको वार्ड वा कोठा सुरक्षित नहुने तर्क गरे । उनले भने, “संक्रमित विरामी रहेको कोठा वा वार्डमा दुरीको नियम लागु हुँदैन । तसर्थ ६ फुटको दुरीले कुनै अर्थ राख्दैन । तसर्थ घरमा सुरक्षित छौं भन्ने सोंच अब पूर्ण रुपमा गलत सावित भएको छ ।”
यो अध्ययनबाट प्राप्त नतिजा अनुसार हाल प्रचलनमा रहेको सामाजिक दुरीमा परिवर्तन गर्नुपर्ने बैज्ञानिकहरुले बताएको
आवर बिट क्वाइन न्युजले जनाएको छ ।