अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी शरणार्थीलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने गृह मन्त्रालयले निर्णय गरेको छ ।
नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले पुष्टि गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो । सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो ।
तीमध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो ।
अब यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिनेछ, त्यो कागज तयार भएपछि प्रहरीले उनीहरुलाई फेरि पक्राउ गर्न पाउने छैन ।