एजेन्सी । लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेसमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई सहज जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले समान एक-एक गोल गरे । लिग वानमा मेस्सीको यो पहिलो गोल हो ।
पीएसजीले एक गोल भने उपहार पाएको थियो । नान्टेका लागि रान्डल कोलो मुआनीले एक गाेल गरे । खेलको दोस्रो मिनेटमा नै एमबाप्पेले गोल गर्दै पीएसजीलाई आग्रता दिलाएका थिए ।
उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए । ७६औं मिनेटमा मुआनीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि बढ्यो ।
८७औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए ।
उनले एमबाप्पेको पासमा गोल गरेका थिए । यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक जोडेको छ । पराजित नान्टेस १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।