Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ए डिभिजन लिगः ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण तीन अंक

ए डिभिजन लिगः ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण तीन अंक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १७:३०:३१ बजे
  • 760
    SHARES
  • ए डिभिजन लिगः ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण तीन अंक

    रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३–२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

    images

    ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक एक गोल फर्काए । योसँगै एपीएफका प्रशिक्षक कुमार थापाको ए डिभिजन लिगमा प्रशिक्षक जिम्मेवारी सुखद् हुन सकेन । मनाङ मर्स्याङ्दी क्लबबाट तीन पटक लिगको उपाधि दिलाएका थापाले पहिलो पटक ए डिभिजन लिग हारेका हुन् ।

    खेलको १४ औँ मिनेटमा ब्रिगेडका दिनेश राईले सुरुवाती अग्रता बनाए । उनले करिब ३५ यार्डबाट हानेको फ्री किक सेकेन्ड बारको टप कर्नरमा सिधै लाग्न पुगेको थियो ।

    स्पेनबाट व्यावसायिक फुटबल खेल्दै आएका आवास लामिछानेको उत्कृष्ट पासमा एपीएफका फरवार्ड आशिष लामाले १९ औं मिनेटमा १–१ को बराबरी गोल गरे। ६५ औं मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो तथा टोलीको लागि २–१ को अग्रता दिलाए। दिनेशले विदेशी खेलाडी ड्याडी जुनियरको पासमा सदुपयोग गरे ।

    यसपछि रवि थिङको पासमा एपीएफका वैकल्पिक खेलाडी विक्की तामाङको खेलको ७७औं मिनेटमा २–२ को बराबरी गोल गरे । खेलको ९० मिनेटपछि थपिएको समयमा सुरजले गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाए ।

    सुरजले वैकल्पिक भुवन बस्नेतको पासमा गोल गरेका थिए । यसअघि दुवै टोलीले केही गोल गर्ने अवसर बनाए । तर, दुवै टोलीले सदुपयोग भने गर्न सकेनन् । ४४ औँ मिनेटमा ब्रिगेडका कप्तान रोशन राना मगरले गरेको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो।

    ४९ मिनेटमा मिनेटमा एपीएफका आशिष लामाको प्रहार क्रसबारमा ठोक्किएर फर्किएको थियो। खेलको म्यान अफ दि म्याच ब्रिगेड ब्वाइज क्लबका कप्तान रोशन राना मगर भए । उनले १० हजार रुपैयाँ पाए ।

    दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

    उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुवात गर्ने योजनामा हुनेछ । राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ ।

    जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ । १४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछन् ।

    शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाढे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो । यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रबेशी सातदोबाटोले गोल रहित बराबरी खेले ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology