कोरोना संक्रमितको उपचारमा संलग्न रहंदै आएका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने एक नर्सलाई कोरोना संक्रमण भएको थियो ।
संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । डा. तिवारीले दिएको जानकारी अनुसार उनको अवस्था सामान्य रहेको र संक्रमण कसरी भयो भन्ने बारेमा अहिलेसम्म केही थाहा हुन सकेको छैन ।
त्यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न लागेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।
डा. पोखरेललाई संक्रमण पुष्टि भएपछि प्रसूति विभागको टिमसमेत आइसोलेसनमा जानुपर्ने हुँदा प्रसूति सेवा प्रवाहमा समस्या हुने देखिएको छ । डाक्टरहरुको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने अस्पतालले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालकै सिनियर चिकित्सकले अब अस्पतालको दैनिक प्रशासनिक कार्य गर्ने बताए ।
भरतपुर अस्पतालको आइसोलेसन कक्षमा यसअघि ३६ जना संक्रमित राखिएका थिए । अस्पताल बाहिर होम क्वारेन्टाइनमा १३ जना छन् ।
भरतपुर अस्पताल कोरोना परीक्षण प्रयोगशालामा गएराति अबेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।