नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट सेना, प्रहरी र शसस्त्रका गरी १ हजार ८९ जना सुरक्षाकर्मी संक्रमित भएका छन । नेपाल प्रहरीका ६ सय २० जना, नेपाल आर्मीका २ सय ३९ जना र सशस्त्र प्रहरीका २ सय ३० जना सुरक्षाकर्मी संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित नेपाल प्रहरी रहेको छ । प्रहरी प्रधान कार्यालयका १ सय ५५ जनासहित देशभर ६ सय २० जना संक्रमित भएका छन ।
जसमध्ये ३४ महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । संक्रमितमध्ये २ सय ४० जना संक्रमणमुक्त भइसकेका छन् भने ३ सय ८० जना उपचाररत छन । संक्रमित अधिकांश फिल्डमा खटिएकाहरु रहेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।
नेपाल आर्मीका २ सय ३९ जना संक्रमित भएका छन । संक्रमित सबै पुरुष हुन् । जसमध्ये १ सय ५५ उपचाररत छन भने ८४ जना कोरोनामुक्त भइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
संक्रमित सबै क्वारेन्टिन, होल्डिङ सेन्टर र सबै व्यवस्था कार्यमा खटिएका सुरक्षाकर्मीहरु रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । सीमानाकामा खटिएकाहरु बढी प्रभावित भएका छन । पछिल्लो समय संक्रमितको संख्या अझै बढ्दै गएको उनले जानकारी दिए ।
यस्तै सशस्त्र प्रहरी बलका २ सय ३० जना संक्रमित भएका छन । शसस्त्रका ९३ जना उपचाररत छन भने १ सय १३ जना संक्रमणमुक्त भइसकेका सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए । सशस्त्रमा संक्रमित अधिकांश सीमा क्षेत्रमा खटिएका र क्वारेन्टिनमा खटिएकाहरु रहेका उनले बताए ।