नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ ।
रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभिएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभिसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो ।
संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो । जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो ।
जसबाट अन्तिम १२ छनोट अर्को साता हुने छ । संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई बाहिर राखेको छ । विभागीय टोली एपिएफ क्लबमा आबद्ध रेश्माले क्लब स्तरमासमेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन् ।
संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ । पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन् ।
पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन् । यस्तै, पुलिसबाट चार खेलाडी रहदा न्यू डायमण्ड एकेडेमी र एपिएफ क्लबबाट समान ३–३ खेलाडी रहेका छन् । प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन् ।
प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदै छ । नेपाल साविक विजेतासमेत हो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, संघले पुरुषतर्फको नाम नाम भोलि (आइतबार) सार्वजनिक गर्ने जनाएको छ ।
छनोट भएका खेलाडीहरू
अरुना शाही, प्रतिभा माली, सलिना श्रेष्ठ, उषा भण्डारी, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्ति थारु, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, सरस्वती जैशी, सरस्वती चौधरी, कविता भट्ट, निरुता थगुङ्ना