Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपत्यकाका थप सात स्थानमा पानी प्रशोधन केन्द्र बन्दै

उपत्यकाका थप सात स्थानमा पानी प्रशोधन केन्द्र बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०७८ बुधवार • १३:४९:०२ बजे
  • 835
    SHARES
  • उपत्यकाका थप सात स्थानमा पानी प्रशोधन केन्द्र बन्दै

    अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दुई दशकअघिदेखि बागमती संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, जनसंख्या वृद्धि हुँदै गर्दा बागमतीलाई सफा राख्न हम्मेहम्मे परिसकेको छ । जति धेरै जनसंख्या उति नै धेरै फोहोर निस्किने हुँदा समितिले बागमती स्वच्छ बनाउन काठमाडौँ उपत्यकामा थप चार ठाउँमा पानी प्रशोधन केन्द्र निर्माण कार्यअघि बढेको छ ।

    images

    उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु–बालकुमारी, ललितपुरकै धोबीघाटमा दुई वटा र काठमाडौँको गुह्यश्वरीमा थप एकवटा गरी सात ठाउँमा पानी प्रशोधन केन्द्रको निर्माण कार्यअघि बढेको खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयका प्रमुख चन्द्र पाँ श्रेष्ठले जानकारी दिए ।

    सर्वसाधारण तथा कलकारखानाबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र बाग्मतीमा मिसाइने प्रक्रिया अघि बढेको छ । घर तथा कलकारखानाबाट निस्किएको ढललाई सिधै खोलाको पानीमा मिसाउँदा बढी फोहोर भएको भन्दै उपत्यकामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    एसियाली विकास बैंकको सहयोगमा चारवटा प्रशोधन केन्द्र निर्माण हुँदै छ । एउटा आयोजना भने सम्पन्न भइसकेको बागमतीको पानी सफा बनाउनका लागि चारवटा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

    उनी भन्छन्, ‘ढल व्यवस्थापन पनि गर्दै छौँ । हामी सहायक नदीमा पनि जानुपर्छ । सबैतिर एकैपटक जानका लागि हाम्रो क्षमता पनि पुग्दैन । मुख्य बागमतीको सहायक नदी, सहायक नदीका पनि सहायक नदीमा गएका छौँ । सबै सहायक नदीमा जानुपर्छ तर बागमती नदीलाई बढी प्राथमिकता दिएका छौं ।’ सातवटा सहायक नदी र बागमती नदीमा ढल व्यवस्थापन गर्नका लागि करिब ५५ अर्ब रुपैयाँ लागत लाग्ने र अन्य सहायक नदीको पनि अध्ययन गर्ने उनले बताए ।

    गुह्यश्वरीमा दैनिक तीन करोड २४ लिटर पानी प्रशोधन गर्ने क्षमताको पानी प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ । सल्लाघारीमा एक करोड ४२ लाख क्षमता, कोड्कु बालकुमारीमा एक करोड ७५ लाख क्षमता, र धोबीघाटमा तीन करोड ७० लाख लिटर क्षमताको दुईवटा शुद्धीकरण केन्द्रको निर्माण कार्य अघि बढेको अयोजना प्रमुख श्रेष्ठले बताए ।

    ‘यससँगै गुह्यश्वरीमा दुई अर्ब ५४ करोड रुपैयाँ लागतमा नयाँ पानी शुद्धीकरण केन्द्र निर्माणको काम सकिएको छ । यस आयोजना १० वर्षसम्म नै सञ्चालन गर्नेछौ,’ उनले जानकारी दिए ।

    यी तीनवटा आयोजनाको ठेक्का चीनको एक कम्पनीले लिएको उनले जानकारी दिएका छन् । सल्लाघारी, कोड्कु बालकुमारी, धोबीघाटका आयोजनाहरू भने एउटै प्याकेजमा बन्ने उनले बताए । उक्त आयोजनाको लागत चार अर्ब रहेको उनले बताए । विभिन्न निकाय र नगरपालिकाले ढल व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।

    उनका अनुसार शुद्धीकरण भएको पानीमा माछा पालन पनि गर्न सकिन्छ । उनले भने, ‘हामीले पानी शुद्धीकरण गरेर खोलामै पठाउँछौ । जुन पानी खान योग्य नभए पनि त्यहाँ माछाहरु बाँच्न सक्छन् । हामीले प्रशोधन गरेको पानी पिउनको लागि नभएर माछा बाँच्नेसम्मको हुनेछ ।’

    फोहोर पानीलाई स्वच्छ बनाउका लागि गुह्यश्वरी, सल्लाघारी, कोड्कु र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यी चारस्थानको प्रशोधन केन्द्र सन् २०२३ सम्ममा निर्माण भईसक्ने आयोजनाको भनाइ छ ।

    काठमाडौँ उपत्यकाको प्रमुख नदी बाग्मतीको पानी स्वच्छ राख्न ढल मिसिन्नबाट बचाउनु पर्ने हुन्छ । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाईन विस्तार गरिरहेको छ । यस्तै मेलम्चीले मनहरा र हुमन्ते खोलामा पाइपलाईन विछ्याउने काम गरिरहेको छ ।

    चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो । विकास समितिले बनाएको छुट्टै पाइपलानबाट ढल ल्याएर प्रशोधन केन्द्रमा जम्मा गरिने र सो केन्द्रले ढल प्रसोधन गरी बाग्मतीमा पानी मिसाउने योजनाअनुसार काम भइरहेको हो ।

    खोला किनारमा निर्माण गरिएका पाइपलाईनमा सहरको फोहोर पानी बग्नेछ । जसले गर्दा ढल सिधै खोलामा मिसानबाट रोकिनेछ । पाइपलाइनबाट बग्ने पानीलाई विभिन्न स्थानमा निर्माण हुने प्रशोधन केन्द्रले सफा बनाई खोलामा बगाउनेछ । चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।

    चारवटा प्रशोधन केन्द्र निर्माणको लागि खर्च कति लाग्छ ?

    चार स्थानको प्रशोधन केन्द्र तथा मनहरा र हनुमन्ते खोलामा ढलको पाइप विछ्याउनका लागि मेलम्ची आयोजनाले १३६ मिलियन अमेरिकी डलर खर्च गर्दै छ । एसियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण सहयोग र सरकारले ५६ मिलियन अमेरिकी डलर आयोजनालाई दिएको छ । निर्माण सम्झौताअनुसार सन् २०१९ सम्म बागमतीमा स्वच्छ पानी बग्नु पर्ने भरइसके पनि अझै आयोजनाले काम सम्पन्न गरेको छैन ।

    गुह्यश्वरीको काम सकिसकेको छ । तर, १० वर्षसम्म मेन्टेनेन्सको काम गर्न पर्नेछ । ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ । गुह्येश्वरी प्रशोधन केन्द्रले दैनिक तीन करोड ६४ लाख लिटर पानी प्रशोधन गर्नेछ ।

    कहाँ पुग्यो बागमती ब्युटीफिकेशनको काम ?

    बागमती ‘ब्युटिफिकेशन’ को काम २७ वर्षसम्म पनि कुनै सुधार आएको छैन । लामो समयदेखि रोकिएको काम अहिले पुनःसुरू भएको बागमती एकीकृत सभ्यता समाजले बताएको छ । आयोजनामा हालसम्म १४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको समाजले बताएको छ । हाल आयोजना अघि बढाउनका लागि भने जग्गा मुआब्जाको क्षतिपूर्तिको कारणले समस्या भइरहेको समाजले जनाएको छ ।

    समाजले सन् २०१९ भित्र ब्युटिफिकेशन बागमती बनाइसक्ने गरि आयोजनाअघि बढाएको थियो । बागमती नदीको वरिपरि किनारमा लगाएका बोटबिरुवा र फूलको संरक्षण गरी २०१९ भित्र स्वच्छ, सफा र हराभरा बनाउने तयारी स्वरुप विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो ।

    मुआब्जा विवादका कारण नै बागमतीको ब्युटिफिकेसन परियोजनाको काम रोकिएका थियो । विवाद मन्त्रालयसम्म पनि पुगेको थियो । यो विवाद संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको विषय नै बनीसकेको थियो । ब्युटिफिकेशन क्षेत्रमा पर्ने जग्गाका धनीले मुआब्जाको क्षतिपूर्ती नदिएसम्म काम गर्न नदिने अडान लिएपछि आयोजनाको काम १० महिनासम्म ठप्प भएको थियो । बागमती नदी क्षेत्रका स्थानीयवासीले १८८ रोपनी जग्गाको मुआब्जा माग गर्दा कुनै सुनुवाइ नगरेपछि आयोजनाको काम रोकिएको थियो ।

    तर, अहिले सरकारसँग पहल गर्दै बागमतीदेखि गोकर्णसम्म ब्युटिफिकेशनको कामअगाडी बढाइरहेको बागमती एकीकृत सभ्यता समाजका सुचना अधिकारी कमल अर्याल बताउँछन् । उनी भन्छन्, ‘बागमतीको उदगम स्थल सुन्दरजलदेखि चोभारसम्म ढलको पाइप बिछ्याइसकेको छ । पशुपतिदेखि माथिको ढल गुह्यश्वरीमा मिसाइएको छ भने तिलगंगादेखि धोबिघाटसम्म पनि काम भइरहेको छ ।’

    उनका अनुसार नदी क्षेत्रमा रोकिएको पार्क बनाउने, फूल रोप्ने र ढल निर्माणको काम फेरि सुरू भएको छ । नदीको पानीको गुणस्तर वृद्धि गर्न बागमती शुद्धीकरण प्रशोधन केन्द्र पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # उपत्यका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology