लकडाउन अवधिभर सुरक्षित रहेको काठमाडौं उपत्यकामा सरकारले साउन ६ गते लकडाउन खोलेसँगै कोरोना संक्रमितको संख्या ह्यात्तै बढेको छ । सोमबार उपत्यकाका तीन जिल्लामा १ सय ६८ संक्रमित थपिए ।
आइतबार १ सय ७२ जना संक्रमित थपिएका थिए । उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी संक्रमितको संख्या अहिलेसम्म २ हजार १ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा सबैभन्दा बढी प्रभावित जिल्ला काठमाडौं रहेको छ । उपत्यकाको कुल संक्रमितमध्ये १ हजार ७ सय ५ जना काठमाडौं जिल्लामा रहेका छन् । ललितपुरमा २ सय ८३ र भक्तपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये उपत्यकामा १० जनाले ज्यान गुमाएका छन । जसमध्ये काठमाडौ जिल्लाका ९ जना र ललितपुरका एक जना रहेका छन । भक्तपुरमा भने अहिलेसम्म कोरोनाका कारण कसैले ज्यान गुमाएका छैनन् ।
काठमाडौमा कुल संक्रमितमध्ये १ सय ६२ जना संक्रमणमुक्त भएका छन । १ हजार ५ सय ३४ जना उपचाररत छन । ललितपुरमा ४४ जना संक्रमणमुक्त भएका छन भने ३ सय ३७ जना उपचाररत छन ।
भक्तपुर जिल्लामा ३५ जना संक्रमण मुक्त भएका छन । १ सय १२ जना उपचाररत रहेका छन । उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले मापदण्ड पालनामा पुन कडाई गर्न थालेको छ ।