नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभले आफ्नो देशले विकास गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटेर राजदूत नोभिकभले विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताए ।
मंगलबार राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले भने, भ्याक्सिन नोभेम्बरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्राथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ । तर, त्यसका लागि नेपालले चाहना राख्नु पर्यो । यो भ्याक्सिन विश्वबजारमा माग बढ्दै गएको छ ।
अध्यक्ष तिमिल्सीना र रुसी राजदूतबीच दुई देशबीचको सम्बन्ध, कोरोना भाइरसको संक्रमण लगायतका विषयमा छलफल भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । भेटमा तिमिल्सिनाले रसियाको भ्याक्सिनले छिट्टै अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास व्यक्त गरेका छन् ।