धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हिजो विहान २ बजे जटिल अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा ल्याईएका मोरङको बुढीगंगा २ निवासी ६५ बर्षीया बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
साउन २५ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विराट मेडिकलमा उपचारका लागि लगिएको थियो ।
उनलाई ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । साउन २७ गते कोशी अस्पतालमा भर्ना गरी पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।
उनको स्वास्थ्यमा सुधार नआएपछि पुनः विराट मेडिकलमा लगेर उपचार गर्नेक्रममा गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना रेफर गरिएको थियो । गम्भिर अवस्थामा आईपुगेको विरामीमा कोरोना संक्रमणको आशंका गरी स्वाब लिएर परिक्षण गर्दा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
उनको उपचारकै क्रममा मृत्यु भएकोले मृतकको शव व्यवस्थापनका लागि अहिले तयारी भईरहेको जनाईएको छ । योसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।