बेनी, ५ पुष । म्याग्दीमा सोमबार भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले डोजर (स्काभेटर) पुरिदा चालकको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् ।
तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको सडक निर्माणका क्रममा स्काभेटरसँगै पुरिदाँ चालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्काभेटरका चालक रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ बर्षका भिमबहादुर खत्रीको पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो ।

‘अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर पन्छाएर चालकको शब निकालियो,’ उहाँले भन्नुभयो ‘सडक खनिरहेको अवस्थामा एक्कासी पहिरो खसेर पुरिएको हो ।’ प्रहरी निरीक्षक गुरुङ सहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा घटनास्थलमा पुगेका थिए ।
यसैगरी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको थियो । सडक छेउमा हिडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुन सक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेज, शब परिक्षण प्रतिबेदन र प्रत्यक्षदर्शीको भनाईका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताउनुभयो ।
मृतक थापाका भान्जा कुलबहादुर भण्डारीले गाडीको ठक्करका कारण मामाको ज्यान गएको भन्दै चालक बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । प्रहरीले चालक बेनपा २ का राज केसीलाई नियन्त्रणमा लिएको जनाएको छ ।