अन्तर जातकी केटी भगाएपछि गत मङ्सिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।
सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको कारण माइती पक्षद्वारा निर्घात रूपमा कु’ट’पिट गर्दै अपहरण गरी बेपत्ता पारिएको भनिएका कामीलाई आज बिहान खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ ।
गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधबार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई नि’र्घात रूपमा कुटपिट गरेका थिए ।
त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो ।
कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइत पक्षको धम्की सहँदै आउनुपरेको थियो ।
माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाका वडा नं २ को रीपगाउँमा बस्दै आएका थिए । चन्द्रेको परिवारले भने रमिलाकै माइती पक्षले आफ्ना छोरा बेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
यसैकारण प्रहरीले माइती पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।