सरकारले लकडाउनभन्दा कडाई गर्ने गरी निषेधाज्ञा जारी गर्ने भएको छ । बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले महामारी नियन्त्रणका लागि लकडाउनभन्दा कडाई गर्ने गरी निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस मन्त्रिपरिषदसमक्ष गरेको हो ।
सम्भवतः बिहीबारको मन्त्रिपरिषद बैठकले समितिको सिफारिस अनुमोदन गर्नेछ । निषेधाज्ञाको अधिकार भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रयोग गर्नेछन् । एक मन्त्रीका अनुसार निषेधाज्ञा लकडाउनभन्दा केही माथिल्लो र कफ्र्युभन्दा एक तह तलको हुनेछ ।
‘लकडाउनभन्दा कडा र कफ्र्युभन्दा केही खुकुलो हुन्छ’, सीसीएमीका सदस्यसमेत रहेका एक मन्त्रीले भने । उनका अनुसार कोरोना संक्रमणको महामारी समुदायस्तरमा फैलिएकाले निषेधाज्ञा दुई ठूला पर्व दसैं र तिहारसम्म निरन्तर हुन सक्नेछ । हाल देशका अधिकांश स्थानमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् ।
उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा आज राति १२ बजेबाट निषेधाज्ञा लागू हुँदैछ । तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लघन गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐनअनुसार पक्राउ गरी थुन्नेसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।