Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

उच्च पहाडी क्षेत्रमा हिमपात

उच्च पहाडी क्षेत्रमा हिमपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • ०९:४१:३० बजे
  • 556
    SHARES
  • उच्च पहाडी क्षेत्रमा हिमपात

    जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

    images

    प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् ।

    पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिनुभयो ।

    “हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो”, उहाँले भन्नुभयो, “हिमपातपछि चिसो अत्यधिक बढेको छ ।” हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् ।

    चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । “गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो”, उहाँले भन्नुभयो ।

    हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखिएका छन् ।

    बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ ।

    जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology