Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा बालविवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

म्याग्दीमा बालविवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • ०८:३७:१८ बजे
  • 895
    SHARES
  • म्याग्दीमा बालविवाहका कारण शिक्षाको अवसरबाट वञ्चित

    धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो ।

    images

    सोह्र वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो । पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया यामकुमारी पुन दुई सन्तानकी आमा बनिसक्नुभएको छ । “९ कक्षा पढ्दापढ्दै विवाह भयो”, पुनले भन्नुभयो, “बिहेपछि पढाइलाई निरन्तरता दिन सकिन ।”

    अन्नाइस वर्षको हुँदा विवाह गरेकी पूर्णकला पुनले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरे पनि त्यसभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न विवाह गरेकै कारण वञ्चित हुनुपरेको बताउनुभयो ।

    दुई सन्तानकी आमा बनिसक्नुभएकी पूर्णकलाले उमेर नपुग्दै गर्भवती र सुत्केरी हुँदा समस्या भोग्नुपरेको बताउनुभयो । सरु, यामकुमारी र पूर्णकलालाई बालविवाह गरेकामा पछुतो लागेको छ ।

    शारीरिक र मानसिकरुपमा परिपक्क नहुँदै विवाह गरेका कारण श्रीमान्श्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उहाँहरुको अनुभव छ । आफूहरुले भोगेको पीडा अरुलाई नपरोस् भनेर दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाहविरुद्धको अभियानमा जुटेका छन् ।

    “कानुनी हिसाबले अपराध मानिने बालविवाह गर्दा आर्थिक, शैक्षिक, शारीरिक र सामाजिकरुपमा धेरै क्षति ब्यहोर्नुपरेको छ”, सरुले भन्नुभयो, “हामीलाई जस्तो समस्या नपरोस् भनेर बेलैमा सचेत बनाउन लागिएको हो ।”

    आयआर्जन समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्ने, सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने प्रयासका साथै बालविवाहको जोखिममा रहेका किशोरकिशोरीलाई परामर्श दिने र बालविवाह हुन नदिने वातावरण बनाउन पहल गरेको उहाँ बताउनुहुन्छ ।

    बालविवाह हुन लागेको सूचना पाएमा सम्झाइबुझाइ गर्ने उनीहरुले नमान्नेलाई कानुनी कारबाहीका लागि वडा, पालिकाका जनप्रतिनिधि र पालिकामा खबर गर्छन् ।

    धौलागिरि गाउँपालिकाका २, ३, ४ र ७ नम्बर वडामा गर्ल्स फस्ट फण्ड परियोजनाअन्तर्गत सङ्गम म्याग्दीमार्फत सन् २०१९ देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

    चौध आयआर्जन समूह, आठ बालविवाह प्रतिकार समूह र १० विद्यालयमा किरोशी समूह बनाइएको सङ्गम म्याग्दीका कार्यक्रम संयोजक खिमा पुर्जाले बताउनुभयो ।

    कार्यक्रम लागू भएका वडामा १० वर्षअघि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने किशोरीको सङ्ख्या ४६३ थियो ।

    आयआर्जन समूहलाई घुम्तीकोष परिचालनका लागि रु ४८ देखि रु ५० हजार अनुदान उपलब्ध गराइएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो ।

    सामूहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा बिना धितो घुम्ती कोषबाट ऋण लिएर उनीहरुले बाख्रा, कुखुरापालन, सिलाइ व्यवसाय गरेका छन् ।

    बालविवाह न्यूनीकरणका लागि धौलागिरि गाउँपालिकाले उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।

    कार्यक्रममार्फत विद्यालय र समुदायस्तरमा बालविवाहविरुद्ध सन्देशमूलक कार्यक्रम गरिएको छ । बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत सन्देशमूलक नाटक ‘काइली आमा’को प्रदर्शन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # म्याग्दीमा बालविवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology