नेपालमा पछिल्ला केहिदिनयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ ।
यसबीच सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै भिडभाड हुने स्थानहरुमा कडाई गर्ने निर्णय गरिसकेको छ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या निरन्तर बढ्दै गए ‘स्मार्ट लकडाउन’ गर्ने तयारी पनि गरेको छ ।
यस्तै गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर, गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।
पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौँको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देखियो ।
सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन भनेर मानिसहरुको भिड बाक्लो थियो ।
सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भीड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए ।
त्यसबेला सयौँको भीड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए । पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ ।
त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौँको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।
सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’