Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य

खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • ११:२२:४८ बजे
  • 931
    SHARES
  • खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य

    सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यको घोषणा गरिसकेको छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् ।

    images

    सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।

    भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेको छ । तर, दुबै खोप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ ।

    कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त देखिएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ रहेको छ । प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् ।

    केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् । रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए ।

    अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए । कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए ।

    अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए । ८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले बताए । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँच देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ ।

    बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए । प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ ।

    स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् ।

    दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।

  • सम्बन्धित विषय:

  • # खोपकार्ड अनिवार्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology