Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १३:५७:४७ बजे
  • 997
    SHARES
  • बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

    राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

    images

    सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले टाइम कार्ड लागू गरेको हो ।

    गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समय तालिका लागू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

    उनका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ । महभीर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवं स्तरोन्नति गर्नका लागि समय तालिका जारी गरिएको हो ।

    सडक निर्माणकै क्रममा आवतजावत गर्न दिँदा दुर्घटनाको जोखिमसमेत भएकाले बन्द अवधिलाई छोट्याउने गरी काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    सडक बन्द हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ । विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो ।

    एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ ।

    महभीर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो । उन्नाइस किमी दुरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको छ किमी सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो ।

    बेगखोलादेखि नारच्याङ पुल खण्डको अधिकांश भागमा पनि बिस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।

    सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ६० टन विष्फोटक पदार्थको प्रयोग गरिने भएकाले उक्त क्षेत्रमा समेत अर्को कार्यतालिका बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।

  • सम्बन्धित विषय:

  • # बेनी–जोमसोम सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology