सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती
गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबीच कति संख्यामा दरबन्दी थप गर्ने भन्नेमा समेत सहमति जुटिसकेको छ । प्रधान कार्यालयले महत्वपूण विभागमा डिआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्राविधिकतर्फ बाहेक हाल १४ जनाको संख्या रहेको डिआइजीबाट पाँच बढाएर १९ पु-याउन प्रस्ताव गरिसकेको छ ।
संख्या थप गर्ने विषयमा मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएनएम) समेत गठन भएको थियो । तर हाल उनी गृहबाट रक्षा मन्त्रालय सरुवा भएका छन् । समितिमा प्रहरीतर्फबाट डिआइजी प्रकाशजंग कार्की सदस्य छन् ।
सो समितिले नेपाल प्रहरीमा प्रशासनतर्फका ५ जना डिआइजीको दरबन्दी थप्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव सहमती पछि अर्थमन्त्रालयमा पठाई सकिएको छ । अर्थले दरबन्दी थपबारे स्वीकृति दिएपछि सो प्रस्ताव कानुन मन्त्रालयको रायसहित पुनः गृह मन्त्रालयमा आउनेछ । अर्थ र कानुन मन्त्रालयको सहमति पाएपछि गृह मन्त्रालयले स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पठाउनेछ । राजधानी दैनिकबाट