नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । करिव दुई बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्ती मगरले गरेको एक मात्र गोलले नेपाल विजयी भएको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भए ।
सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिएका थिए । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाएका छन् ।
नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।
यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् । नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुँदैछ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् । तर केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको उनले बताए ।
शनिबार मरिससविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनले बताए ।
‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।
मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन् ।
मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको उनको भनाई छ ।