अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतका ज्वाइँ बन्ने भएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको म्याक्सवेलको विवाहको कार्डबाट यो खुलासा भएको हो ।
म्याक्सवेल आइपिएलमा रोयल च्यालेञ्जर्स बैंगलोरबाट क्रिकेट खेल्दै आएका छन् । म्याक्सवेलले आफ्नी भारतीय मूलकी प्रेमिका विनी रमनसँग मार्च २०२० मा इन्गेजमेन्ट गरेका थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार म्याक्सवेल र विनीको विवाह परम्परागत तमिल ब्राह्मण शैलीमा हुने छ र धेरै अष्ट्रेलियाली क्रिकेटर र अन्तर्राष्ट्रिय अतिथिहरू समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
म्याक्सवेलले मार्च २७ मा प्रेमिका विनीसँग विवाह गर्नेछन् । मार्च २०२० मा म्याक्सवेलले भारतीय परम्परा अनुसार विनीसँग इन्गेजमेन्ट गरेका थिए ।
अहिले दुवै जनाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विनीले आफ्नो इन्स्टाग्राममा म्याक्सवेलसँगका धेरै तस्बिर पनि सेयर गरिसकेकी छन् । सन् २०१९ मा म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण क्रिकेटबाट आफूलाई टाढा राखेका थिए । तर, पछि उनले विनी कै कारण क्रिकेटमा फर्किएको बताएका थिए ।
विनीको पूर्खोली घर भारतको चेन्नइमा छ । तर, उनी अष्ट्रेलियामा जन्मिएकी र हुर्केकी थिइन् । उनले उतै फार्मेसी पढेकी थिइन् । विनीका बुबा वेंकट रमन र आमा विजयलक्ष्मी रमन उनको जन्म हुनुअघि नै अष्ट्रेलियामा बसाइ सरेका थिए । विनीसँग विवाह गरेपछि म्याक्सवेल भारतीय मूलकी युवतीसँग विवाह गर्ने दोस्रो अष्ट्रेलियाली खेलाडी बन्नेछन् ।
यसअघि सन् २०१४ मा अष्ट्रेलियाका पूर्व फास्ट बलर शान टेटले भारतीय मूलका मासूम सिंघासँग विवाह गरेका थिए । यी दुवै एक अर्कालाई आइपिएल पार्टीको समयमा भेटेका थिए र विवाह अघि एक अर्कासँग सम्बन्धमा थिए ।