Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनाव अघि स्थानीय तहको वडा विभाजन नहुने

चुनाव अघि स्थानीय तहको वडा विभाजन नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • २०:५८:१२ बजे
  • 1.3K
    SHARES
  • चुनाव अघि स्थानीय तहको वडा विभाजन नहुने

    इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् ।

    images

    सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष पहिलेनै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो ।

    संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धी प्रस्तावमा टुङ्गो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्ताव अलपत्र परेका हुन् । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए ।

    पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ । पालिकाको सभाबाट दुई तिहाई मतले पारित प्रस्ताव प्राप्त भएको छ महिना भित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको वर्षौसम्म कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनाव अघि नहुने निश्चित छ । चुनावपछि वडा विभाजनको निर्णय भएपनि त्यसको अर्को चुनावबाट मात्रै त्यसको कार्यान्वयन हुने छ ।

    आउँदो स्थानीय तहको निर्वाचन पछि पालिकाहरूमा अर्को सभा गठन हुने छ । वडा विभाजन गर्नुपर्ने भए अर्को सभाले फेरी निर्णय गरेर पठाएपछि संघीय सरकारले निर्णय गर्नुपर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘सरकारले अहिले वडा विभाजन नगरी चुनाव गर्ने भन्यो’,उनले भने,‘अब वडा विभाजन गर्नुपर्ने भए अब बन्ने चुनावबाट गठन भएको सभाले फेरी निर्णय गरेर पठाउनुपर्ने हुन्छ ।’

    इलाम नगरपालिकाले करिब दुई वर्ष अघिनै प्रक्रिया पुरा गरेर वडा विभाजनको प्रस्ताव एक नम्बर प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारले पनि वडा विभाजनको लागि संघीय सरकारलाई पठाएको थियो । तर, संघीय सरकारले वडा विभाजन सम्बन्धी निर्णय नगरी चुनाव घोषणा गरेको हो ।

    ठुलो भूगोल र जनसंख्या भएका कारण सेवा प्रवाहमा कठिनाइ देखिएका वडालाई पालिकाहरूले विभाजन गर्ने प्रस्ताव गरेका थिए । इलाम नगरपालिकाले नवौँ नगर सभाबाट वडा नं. ९ लाई विभाजन गर्ने प्रस्ताव पारित गरेको थियो ।

    साबिकको इलाम नगरपालिकाको ३, ४ र ५ नम्बर मिलाएर बनाइएको वडा नम्बर ९ लाई विभाजन गर्ने नगरपालिकाको प्रस्ताव छ । साबिकको वडा नम्बर ३ लाई विभाजन गर्ने, त्यसमा साबिकको ४ नम्बर वडाको क्षेत्रफल मिसाएर एउटा वडा बनाउने र साबिकको ४ नम्बर वडाको भूगोलमा बाँकी रहेको ३ को भाग मिलाएर अर्को वडा कायम गर्ने प्रस्ताव नगर सभाबाट पारित भएको थियो ।

    नगरपालिकाले विभाजनको लागि प्रस्ताव गरेको वडाको जनसंख्या, मतदाता नामावली, वडाको केन्द्र र दुई वडा बिचको प्राकृतिक सीमा समेत यकिन गरिएको थियो ।

    सूर्योदय नगरपालिकाले वडा नम्बर १ गोर्खेलाई विभाजन गर्न प्रस्ताव गरेको थियो । साबिक गोर्खे गाविसको वडा नम्बर ४ को भूगोल निकै ठुलो भएकाले सोही वडालाई विभाजन गरेर अर्को वडा कायम गर्ने नगरपालिकाको सिफारिस थियो । माङसेबुङ्ग गाउँपालिको वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडा बनाउने प्रस्ताव गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तहको वडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology